सूचनाको शक्ति - The Power Of Information

        

समाचार

पूर्वमेयर धवलको मिलेमतोमा करोडौंको सार्वजनिक जग्गा व्यक्तिको नाममा

नेपालगन्ज उपमहानगरपालिकाले जग्गा आफू मातहतमा ल्याउन प्रक्रिया अगाडि बढाइसकेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका तत्कालीन मेयर डा.धवलशमशेर राणाले गलत मनसाय राखेर करोडौं मूल्यको सार्वजनिक जग्गा व्यक्तिको नाममा गरिदिएको खुलासा भएको छ ।

न्यूरोडस्थित करिब एक कठ्ठा सार्वजनिक जग्गा पूर्वमेयर राणाले कार्यकाल सकिनुभन्दा तीन महिना अगाडि व्यक्तिको नाममा गरिदिएको खुलासा भएको हो । न्यूरोड क्षेत्रमा अहिले चलन चल्तीमा एक कठ्ठा जग्गाको मूल्य कम्तीमा पनि १० करोड पर्छ ।

मेयर प्रशान्त विष्टका अनुसार यो जग्गा सार्वजनिक भएको जान्दाजान्दै राणाले व्यक्तिको नाममा गरिदिएका हुन् । तर आफूहरू जग्गा फिर्ताको पहलमा जुटिसकेको विष्टको भनाइ छ । कार्यकाल सकिनुभन्दा तीन महिना अगाडि राणाले बोर्डबाटै निर्णय गराएर व्यक्तिका नाममा जग्गा गरिदिने प्रक्रिया अगाडि बढाएको देखिएको विष्टले जानकारी दिए ।

उनले भने, ‘बोर्डबाटै निर्णय गराएर जग्गा व्यक्तिलाई दिने प्रयास भएको हो । जुन जग्गा सार्वजनिक भएको पुष्टि भइसकेको छ ।’ नगर विकास समितिले यो जग्गालाई सार्वजनिक भएको भनेर जनाउँदा जनाउँदै पूर्वमेयर राणाले आफ्नो कार्यकालको अन्तिम समयमा यस्तो अनुचित निर्णय गरेको भन्दै अहिले उनको आलोचना भइरहेको छ ।

राणाले गलत नियत राखेर जग्गा व्यक्तिको नाममा गरिदिने निर्णय गरेको उपमेयर कमरुद्दिन राईले पनि आरोप लगाएका छन् । उनले भने, ‘धवलजीको नेतृत्वमा नहुनुपर्ने काम भएको छ । करोडौं मूल्यको सरकारी जग्गा प्रलोभनमा परेर व्यक्तिका नाममा गरिदिनु गलत हो । यसमा मिलेमतो गर्ने सबैलाई कारबाही हुन्छ ।’

लक्ष्मी चलचित्र मन्दिरदेखि पश्चिमतिर न्यूरोडसँग जोडिएको एक कठ्टा जग्गा गोपालराज शाक्य, घनश्याम बानियाँ, घनश्याम लखेर र सनताम कौरले आफूहरुको भएको दाबी गरेका थिए । उनीहरूले दाबी गरेकै भरमा मेयर राणा मेयर छँदा उनीहरूबाट जग्गाको कर लिएर प्रमाण पुर्याइ दिन बोर्डबाट निर्णय गराएका थिए ।

उपमेयर राईका अनुसार यो मुद्दा अख्तियारमा पनि पुगिसकेको छ । जग्गा दाबी गर्ने व्यक्तिहरू राप्रपा निकटस्थ हुन् । नेपालगन्जका तत्कालीन मेयर राणा राप्रपाका महामन्त्री हुन् । मेयर छँदा उनी पार्टीका उपाध्यक्ष थिए । व्यक्तिको नाममा गरिएका यो जग्गामा अहिले पसलहरू सञ्चालनमा छन् । ती पसलहरूको भाडा पनि नगरपालिकाले लिँदै आएको थियो ।

‘यो जग्गामा पसल सञ्चालन गरिरहेका सञ्चालकबाट नगरपालिकाले भाडा पनि उठाउने गरेको थियो । उनीहरूले बुझाएको भाडाको प्रमाण नगरपालिकासँग सुरक्षित छ । व्यक्तिको जग्गा भएको भए नगरपालिकाले कसरी त्यहाँ पसल गर्नेहरूबाट भाडा लिन सक्थ्यो,’ उपमहानगरपालिकाका एक पदाधिकारीले भने । उपमहानगरपालिकाले जग्गा आफू मातहतमा ल्याउन प्रक्रिया अगाडि बढाइसकेको छ ।

आयोमेलबाट

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार ०९:०२