सूचनाको शक्ति - The Power Of Information

        

देशभरका शिवालयमा तीजका व्रतालुहरूको भीड

आज हरितालिका तीज मनाइँदैछ । हिन्दू नेपाली महिलाले महादेवको पूजाआराधना गरी तीज मनाउने परम्परा छ । आज व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् ।

तथापि, आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी व्रत बसी पूजाआराधना गरेकी थिइन् । अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ । सोही आधारमा तीज पर्व मनाउने गरिएको पाइन्छ ।

अघिल्लो दिन राति दर खाएर आज तिजको दिन व्रत बसेर शिव–पार्वतीको पूजा गर्ने चलन छ । यस दिन महिलाहरू आफ्नो शरीरको अवस्थाअनुसार निराहार, जलाहार, फलाहार, एकछाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि तीजको व्रत बस्नुपर्ने मान्यता छ ।

तिजको अवसरमा अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्ना पतिबाट पार्वतीले झैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस् भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन् । आज नाचगान गर्ने पनि चलन छ ।

आज काठमाडौंको पशुपतिनाथ, बाँकेको बागेश्वरी मन्दीर, खोटाङको हलेसी महादेव लगायत देशभरका शिव मन्दिरहरूमा व्रतालुहरूको भीड लाग्ने गर्दछ । दर खाएपछि औपचारिक रुपमा सुरु भएको तिज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयामा हरितालिका व्रत, चौथीमा गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व समापन हुन्छ ।

नेपालमा भाद्र शुक्ल पक्ष तृतीयाका दिनलाई भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै हिन्दू महिलाहरूले हरितालिका तीज पर्व मनाउने भए पनि हालका दिनमा नेपालमा सबै धार्मिक समुदायले यस पर्वलाई पारिवारिक सु–स्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासकासाथ श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार ०८:२१