सूचनाको शक्ति - The Power Of Information

        

‘प्रेमगीत ३’ लाई विकास बोर्डको सम्मान

नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने अभियानमा रहेको ‘प्रेमगीत–३’ लाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ ।

आईतबार बोर्डको सभा हलमा आयोजित एक समारोहमा विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनसहितको यूनिटलाई सम्मान गरेका हुन् ।

नेपाली भाषामा छायांकन भए पनि हिन्दी भाषामा डबिङ भएर पहिलो पटक ‘प्रेमगीत ३’ भारतमा मात्र होइन विश्वभरी नै यही असोज ७ गते एकै साथ प्रदर्शन हुँदैछ ।

यही उपलब्धिका लागि विकास बोर्डले फिल्मका निर्देशकदेखि कलाकारसम्मलाई सम्मान गरेको हो । समारोहमा बोर्ड अध्यक्ष भुवन केसीले फिल्मको टिमलाई शुभकामना दिँदै सम्मानस्वरुप गौतम बुद्धको मुर्ति प्रदान गरे ।

नेपाली फिल्मलाई विश्व बजारमा पुर्‍याउन ‘प्रेमगीत ३’ को टिमले गरेको प्रयासको मुक्तकण्ठले प्रशंसा गर्दै अध्यक्ष केसीले आफ्नो व्यक्तिगत र बोर्डको तर्फबाट फिल्मलाई हरेक प्रकारको साथ र सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए ।

त्यसअघि अध्यक्ष केसीको भनाइ थियो– ‘म सधैं नै नेपाली फिल्म विश्व बजारमा पुग्नुपर्छ भन्ने सोच्थेँ । ‘प्रेमगीत ३’ को टिमले यसको लागि प्रयास गरेकोमा म एकदमै खुसी छु ।’

भारतमा हिन्दी भाषामा रिलिज हुन लागेको ‘प्रेमगीत ३’ ले नेपाली कला, संस्कृति र भाषालाई विश्वमा चिनाउन ठूलो भूमिका खेल्नेमा अध्यक्ष केसी विश्वस्त छन् । फिल्मले नेपालको पर्यटन प्रवद्र्धनमा पनि धेरै सघाउने उनको भनाई छ ।

‘प्रेमगीत ३’ले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुग्न बाटो खोल्ने विश्वास व्यक्त गर्दै अध्यक्ष केसीले नेपाली र हिन्दी दुवै भाषाका लागि सफलताको शुभकामना दिए ।

बोर्डबाट सम्मान ग्रहण गरेपछि निर्देशक तथा निर्माता सन्तोष सेनले बोर्डको प्रोत्साहनले ठूलो हौसला मिलेको बताए । उनले नेपाली फिल्मलाई विश्व बजारमा पुर्याउन सिंगो फिल्म क्षेत्र एकजुट हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा सेनसँगै कलाकारहरु सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउतलगायत उपस्थित थिए । फिल्मका मुख्य अभिनेता प्रदीप खड्का तथा अभिनेत्री कृस्टिना गुरुङ भने कार्यक्रममा सहभागि भएनन् ।

समारोहमा सहभागि भएका चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले नेपालको पहिलो नेपाल–इण्डो फिल्मलाई सरकारी निकायले गरेको सम्मानलाई ऐतिहासिक उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।

उनले चलचित्र विकास बोर्डले आधिकारिक सम्मान प्रदान गरेकोमा बोर्डका अध्यक्ष भुवन केसीप्रति आभार व्यक्त गरेका छन् । ‘प्रेम गीत ३’ नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्व बजारमा पुर्याएर एउटा छुट्टै इतिहास रच्न सफल भएकोमा निर्माता सन्तोष सेन,चक्र बहादुर चन्द चलचित्रकर्मी शिव श्रेष्ठ, सुनिल थापा,अभिनेता
प्रदीप खड्का लगायत टिमलाई हार्दिक वधाई तथा ऐतिहासिक सफलताको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं, अध्यक्ष खड्काले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार ०८:१७