बाघ अवलोकन तथा जंगल सफारीका लागि चर्चित बन्दै गएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गरेको छ ।
पर्यटक आकर्षित गर्ने उदेश्यका साथ निकुञ्जमा पर्यटनको सम्भावनालाई चिनाउन प्रचारप्रसार र प्रकृतिमा आधारित पर्यापर्यटन प्रवर्द्धनमा जोड दिन अभियान थालिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए ।
उनले नेपालको कान्छो निकुञ्जको रुपमा चिनिने बाँके राष्ट्रिय निकुञ्जले छोटो अवधिमै संरक्षणमा फड्को मार्दै पर्यटन प्रवर्द्धनका लागि अगाडि बढेको बताए । वन्यजन्तु र मानवबीच हुने द्वन्द्वलाई निकुञ्जका साथै सुरक्षाकर्मी, संरक्षणकर्मी र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले सहकार्यबाट न्यूनीकरण गर्दै आएका छन् ।
बाघ संरक्षणको मुख्य उद्देश्य रहेको बाँके निकुञ्जमा बाघको संख्या बर्सेनि बढ्दै गएको छ । सरोकारवाला निकायबीचको समन्वय र सहकार्यबाट बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक आकर्षित गर्न पर्यटन विकास गर्न लागिएको निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिकी संस्थापक अध्यक्ष सावित्रा पुनले बताइन् ।
निकुञ्जमा पूर्वाधार तयार गरिएपछि पर्यटनका लागि आकर्षणको केन्द्र बन्न थालेको छ । बाँके निकुञ्ज नेपालका १०० गन्तव्यमा ५७ औँ स्थानमा पर्दछ । विसं २०६७ मा बाघ संरक्षणका लागि स्थापना गरिएको सो निकुञ्जमा २०१३ मा गणना गर्दा चार बाघ थिए भने २०२२ को गणनामा त्यो संख्या बढेर २५ पुगेको निकुञ्जले जनाएको छ ।
जैविक विविधताको संरक्षण, बाघ र बाघको आहारा प्रजातिको संरक्षण, मध्यवर्ती क्षेत्रका प्राकृतिक स्रोतको नियमन र व्यवस्थापन तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यअनुरुप काम भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले जानकारी दिए । करिब ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके निकुञ्जमा स्तनधारी र चरा प्रजाति पाइन्छ ।
मुख्यतः बाघको बासस्थानका लागि उपयुक्त मानिएको निकुञ्जमा चौका प्रजाति पनि एक विशेषताका रुपमा देखिएको निकुञ्जले जनाएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा जिप, हात्ती सफारी, जङ्गल भ्रमण, बाघ र चरा अवलोकन, क्याम्पिङ, हाइकिङ, होमस्टे, ¥याफ्टिङ लगायतका प्याकेजले पर्यटक आकर्षित गर्ने कार्य गरिरहेको छ ।
सत्यपाटी । बाँके ।