सूचनाको शक्ति - The Power Of Information

        

अर्थ–डायरी

नजिकिँदै दशैं, महंगीले नाघ्दै सीमा

सरकार बजारमा राखिएका खानेकुरामा कति मिसावट छ, गुणस्तर छ वा छैन भनेर बजार अनुगमन गर्दैन ।

हामी नेपालीहरुको महान् चाड दशैं नजिकिँदैछ । दशैँमा नागरिकहरुले आआफ्नो आवश्यकता अनुसार नै किनबेच गर्ने गर्छन् । तर पछिल्लो समय बजारमा पहिलो वर्षको भन्दा दोब्बर महंगी बढेको पाइन्छ । महंगीका नाममा अहिले व्यापारीहरुले मनपरी भाउ राखेर सामान बेचिरहेका छन् । साथै अहिले बजारमा हजार लिएर गएमा एक झोला तरकारी पनि आउन गाह्रो भइसकेको छ । त्यस्तै खसीको मासु एककिलो किनेर खानुपरेमा १५०० तिर्नुपर्छ भने कुकुरको मासुको ५०० पर्ने गर्छ । दशैंमा हामी नागरिकलाई आवश्यक पर्ने सामग्रीमा व्यापारीले मनपरी भाउ राखेर हामीलाई ठग्छन् ।

पछिल्लो समय महंगी, बेरोजगरी र गरिबीका कारण हामी सर्वसाधारणहरु चाडवाड पनि मनाउन नसक्ने अवस्थामा पुगिरहेका छौं । अबदेखि सरकारी कर्मचारी, व्यापारी र घरधनीले मात्र चाडवाड मनाउन पाउने छन् । हामी सर्वसाधारणलाई बिहान बेलुकाको त टाक टार्न गाह्रो भइसकेको छ भने हामी कसरी चाडवाड मनाउने ? महिनाभरिको धौ–धौ गरेर ८ देखि १० हजार कमाउने नागरिकले त्यो पैसाबाट घर खर्च चलाउने कि चाडपर्व मनाउने ? पछिल्लो समय महंगीका कारण आर्थिक कमजोर भएका र बेरोजगारी नागरिकहरुले हामी नेपालीको महान् चाड दशैं नै मनाउन नपाउने दिन आइसकेको छ ।

बजारमा व्यापारीहरुले बेच्न राखेका सामग्रीहरु सबै कमसल वा मिसावट रहेको पाइन्छ । चाहे त्यो बोरामा प्याक गरेर राखेको चामल नै होस् या बजारमा पाइने हरियो तरकारी नै होस् । यिनीहरुमा व्यापारीले तौल घटबढ, मिसावट र म्याद सकिएको बेच्ने गर्छन्, तर पैसा भने महंगो लिएर नागरिक ठग्छन् । अहिले पनि निजी क्षेत्रमा काम गर्ने, मजदुरी गर्ने नागरिकको ज्याला बढेको छैन, तर महंगी हप्तैपिछे व्यापारीहरुले बढाएका छन् । सरकारले सरकारी कर्मचारीलाई तलब बढाउँछन्, तर निजी क्षेत्रमा काम गर्ने नागरिकहरुको न तलब बढ्छ न त महंगी नै घट्छ ।

चाडपर्व सबैका लागि सम्मान् भए पनि पछिल्लो समय धनीहरुलाई मात्र चाडपर्व आएको पाइन्छ । धनीहरुलाई त दिनहुँजसो नै चाडपर्व आएको हुन्छ, तर हामी गरिब नागरिकलाई वर्षको एक पटक महान् पर्व दशैं आउँदा पनि हामीहरु नयाँ कपडा र मिठो खानेकुराहरु खान पाउँदैनौं । सरकारले पनि बजार अनुगमन गरेर मूल्य अभिवृद्धि गर्ने व्यापारीहरुलाई कारबाही गर्दैन । सरकार व्यापारीको अगाडि लम्पसार पर्छ र सरकारी कर्मचारी र नेताहरु भने व्यापारीसँग आर्थिक लेनदेन गर्छन् । व्यापारीहरु राजनीतिक दललाई अगामी चुनावका लागि चन्दा दिन्छन् र त्यहीँ पैसा सामानमा जोडेर नागरिकलाई लुटछन् ।

बजारमा उद्योगी व्यापारीहरुले खानयोग्य नभएका, म्याद सकिएका, मिसावाट गरिएको, कम तौल राखेर नागरिक ठग्दा पनि सरकार चुपचाप छ । व्यापारीको अगाडि न सरकारले केही गर्न सक्छ न नागरिकले नै यिनीहरुको विरोधमा सडकमा उत्रिन सक्छन् । व्यापारीले आफू धनी बन्नका लागि आफैंले सामानको मूल्य राखेर नागरिक ठग्दा पनि सरकार किन सामानको मूल्य निर्धारण गर्दैन । कति व्यापारीहरुले त अशिक्षित, आर्थिक कमजोर भएको वा गरिब नागरिकलाई खानयोग्य नभएको सामानहरु पनि महंगो रेटमा बेचेर ठगिरहेका छन् । तर पैसा त त्यो गरिब नागरिकको पनि त हो नि, सरकार ।

किन हामी सर्वसाधारण गरिब नागरिकमाथि यस्तो अत्याचार ? हामी नेपालीहरु चाडपर्वलाई हाम्रो गर्वका रुपमा पहिलेदेखि नै मनाउँदै आएका छौँ, तर यहीँ चाडपर्वको नाममा व्यापारीहरुले बजारमा सामानको मूल्य बढाएर हामीलाई ठग्ने गर्छन् । हामीलाई चाडवाड रमाइलो गर्न आउने गर्छ भने व्यापारीहरुलाई नागरिक ठग्न आउने गर्छ । चाडपर्वमा नागरिकहरुले प्रायजसो खाने खानेकुराहरु फलफूल, माछामासु, मिठाइ, मदिरा, दुध, दही आदि हो । यी खानेकुराहरुको अघिपछि त मूल्य धेरै हुने गर्छ भने चाडपर्वको समयमा त व्यापारीहरुले दोब्बर मूल्य लिएर नागरिक ठग्ने गर्छन् ।

अहिले सरकारले बजार अनुगमन गरेको छैन भने चाडपर्वको बेलामा सरकारी कर्मचारीहरुले व्यापारीहरुसँग कमिशन खाएर खुला छोड्दिन्छन् । यता नागरिकको नाम लिएर उपभोक्ता संस्था खोलेका संस्थाका अध्यक्षहरु व्यापारीहरुसँग पैसा पाएन भने मात्र मूल्य अभिवृद्धिमा विरोध गर्छन् र पैसा पाएपछि जतिसुकै मूल्य अभिवृद्धि भए पनि मौन बस्छन् । साथै उपभोक्ता संस्थाका अध्यक्ष प्रेम महर्जन र उपभोक्ताकर्मी माधव तिल्मसिना, ज्योति बाँनिया र अन्य संस्थाहरुले पनि उपभोक्ता संस्था खोलेर व्यापारीसँग पैसा खाएर बसिरहेका छन् । यदि शुद्धिकरण विभागले यिनीहरुको सम्पत्ति छानबिन गर्ने हो भने यिनीहरुले व्यापारीसँग मिलेर खाएको सबै पैसा बाहिर आउनेछ ।

यिनीहरु नागरिकको आवाज भनेर संस्था खोल्छन् र कुनै पैशामा पनि आवद्ध रहँदैनन् । यदि काम गर्दैनन् भने यिनीहरुले कसरी घर खर्च चलाउँछन्, बालबच्चको पालनपोषण गर्छन्, ठुलाठुला घर बनाउँछन् र चिल्लो गाडीमा चढ्छन् । यिनीहरु नागरिकको आवाज नभइ व्यापारीका दलालहरु छन् । सरकार पनि व्यापारीले कर तिरेको छ भन्दै व्यापारीले नागरिकलाई जति ठगे पनि चुप लागेर बसिरहेको छ । सरकारलाई कर भए हुन्छ भने व्यापारीलाई नागरिक ठग्नु छ । सरकार बजारमा राखिएका खानेकुरामा कति मिसावट छ, गुणस्तर छ वा छैन भनेर बजार अनुगमन गर्दैन ।

पेय पदार्थ, बियर, दही, दुध, माछामासु आदि विभिन्न खानेकुरा हामी नागरिक चाडपर्वमा बढी प्रयोग गर्छन् । तर यी सामानहरुमा कति मिसावट छ वा छैन भनेर सरकारले अनुगमन नगर्दा आज धेरै नागरिकहरु यस्ता खानेकुराबाट रोगी भएका छन् । साथै कति नागरिकहरुले मदिरा खाएर समाज तथा घरमा कुटपिट गर्छन् र मृत्युको मुखमा समेत पुग्छन् । त्यसकारण अब चाडवाडको समयमा मदिरा बेचबिखनमा रोक लगाउने भनेर सरकारले नीति तथा नियम बनाउनुपर्छ । बजारमा व्यापारीहरुले कुहिएका, सडिएका र खानयोग्य नभएका सामग्रीहरु बेच्दा पनि सरकारले बजार अनुगमन गर्दैन ।

व्यापारीहरु पनि नागरिकप्रति जिम्मेवारी नरहँदा आज नागरिकहरु ती खानेकुराहरु खाएर मृत्युको मुखमा समेत पुगेका छन् । व्यापारीहरुलाई आफू धनी बन्नप्रति मात्र चासो रहेको पाइन्छ । हामी नेपालीहरु वर्षभरि दुःख गरेर कमाएको पैसा दशैँमा खर्च गर्छौं भने कसैले ऋण लिएर दशैं मनाउने गर्छन् । यता कुनै पनि आम्दानीको स्रोत नभएका नागरिकलाई न व्यापारीले उधारोमा सामान नै दिन्छ न नागरिकले नै ऋण दिने गर्छ । जसले गर्दा उसलाई कुनै पनि चाडवाड आउँदा केहि चासो हुँदैन । अब हामी नेपालीहरु आफूले दशैँमा खर्च गर्ने पैसा कटौती गरेर ती आर्थिक कमजोर भएका नागरिकलाई पनि दशैं मनाउने मौका दिने हो कि ?

तर हामी त्यस्तो छैनौँ, हामी नेपालीहरु बरु खाइ नसकेर बाटामा लगेर फाल्छन्, तर गरिब र दुःखीलाई सहयोग गर्दैनौं । हामी सबै नागरिक यो धर्तीमा जन्मिएपछि कुनै न कुनै दिन मर्छौ । हामीले बाँच्नुन्जेल केही राम्रो काम गरेर मरेपछि पनि हामीलाई नागरिकले सम्ँझन्छन् तर नागरिक जतिसुकै धनी भए पनि उसले समय हुनु जेलसम्म केही राम्रो काम गरेको छैन भने ऊ जति धनी भए पनि उसलाई मरेपछि कसैले सम्झिँदैन । पहिला–पहिलाको समाज तथा नागरिक आफू भोको बसेर पनि अरुलाई खान दिन्थे, दुःखी गरिबलाई सहयोग गर्ने गर्थे, तर अहिलेको समाज तथा नागरिक आफू खाइनसकेर खानेकुरा फाल्छन्, तर दुःखी गरिबलाई एक छाक खान दिँदैनन् ।

अहिलेका नागरिकहरु एउटै काममा सिमित छन् । आफू धनी बन्ने, चिल्लो गाडीमा चढ्ने । उनीहरुसँग अरुलाई सहयोग गर्ने भावना नै रहेको छैन । पछिल्लो समय भर्खरै जन्मिएको बच्चालाई पनि उसको आमाबुबाले उसले नबोले पनि उसलाई आवश्यक पर्ने सम्पूर्ण सामानहरु दिन्छ, तर समाजमा कसरी घुलमिल हुने भनेर सिकाउँदैन । अहिले बच्चाहरुलाई अभिभावकहरुले राम्रो ज्ञान तथा संस्कार नदिएकाले उनीहरुलाई गरिबप्रति माया, ठुलोलाई सम्मान सानोलाई माया, देशलाई माया गर्नेजस्ता भावनाहरु रहेको पाइँदैन । अहिले बच्चाहरु गरिबलाई हेरा गर्छन् भने राष्ट्रलाई घृणा गर्छन्, उनीहरु आफ्नो अभिभावकले दिएको अपुरो ज्ञानका कारण स्वार्थी हुँदै गएका छन् ।

अब महंगीका कारण हामी नागरिकको चुलोमा बिहान बेलुका आगो बल्न छोडिसक्यो वा एक छाक मात्र खान पाउने दिन आइसक्यो । सबै सामानहरु व्यापारीको मनपरी भाउमा बिक्री हुन थालिसकेको छ तर सरकार भने लाचार भएर बसिरहेको छ । उद्योगी व्यापारीहरु राजनीतिक पार्टीको झोला बोकेर, संगठन खोलेर नागरिकलाई ठग्न लागिपरेका छन् । तर सरकार र उद्योग तथा वाणिज्य मन्त्री दिलेन्द्रपसाद बडु उद्योग व्यासायीहरुसँग पैसा खाएर बसिरहेका छन् । अहिले उद्योग मन्त्रालय मन्त्रीले चलाउनुको सट्टा उद्योगी व्यवसायीले चलाएका छन् । उद्योग मन्त्रीले व्यापारीसँग आफ्नो फाइदाका लागि लाभ लिँदा आज नागरिक मारमा परिरहेका छन् ।

मन्त्री बडुले आज नागरिकको लागि नसोचि आफ्नो लागि सोच्दा अहिले महंगीले सिमा नाघिसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले न उद्योग मन्त्रीलाई हटाउन सक्छन् न महंगीलाई नियन्त्रण गर्न सक्छन् । प्रधानमन्त्री देउवालाई अहिले पनि बजारमा महंगीका लागि नागरिक भोकै बसेको कुरा थाहा नै छैन । विपक्ष पार्टी एमालेका केपी शर्मा ओलीलाई महंगीका कारण नागरिक भोकै बस्नुपर्यो र यसलाई नियन्त्रण गर्नुपप्यो भनेर बोल्न फुर्सद नै छैन । उनी नागरिकप्रति जिम्मेवार नै रहेका छैनन् । ओली कहिले पनि नागरिकको नेता बन्न सकेन उनी एउटा ग्रुपको नेतामा नै सिमित रहे ।

अहिले नागरिकहरु भन्छन्, एमाले पार्टी त पार्टी होइन त्यो त ओलीको एउटा निजी ग्रुप हो । जसले निजी कम्पनी खोल्छ उसले व्यापार गरेर नाफामात्र खोज्छ उसलाई नागरिक र राष्ट्रको केही चासो हुँदैन । अहिले ओलीको पनि त्यहीँ काम निरन्तरताका साथ अघि बढेको हामी नागरिकहरु देख्छौं । विपक्षी पार्टी एमालले न महंगीका विरोधमा सदनमा आवाज उठाउँछ न सडकमा नै उत्रिन्छ । अहिले नागरिकहरु विपक्षी पार्टी एमाले पनि छ भनेर भन्छन् । अहिले बजारमा कुन सामानको मूल्य कति छ भनेर न ओलीलाई नै थाहा छ न देउवालाई नै थाहा छ । उनीहरु नागरिकले तिरेको करमा मोजमस्ती गरेर बसिरहेका छन् ।

देउवा भन्छन्, म नागरिकको लागि प्रधानमन्त्री बनेको हो, तर उनलाई गरिब र दुःखी नागरिकहरु महंगीका कारण भोकभोकै मरेका भन्ने विषयमा बोल्ने फुर्सद भने छैन । व्यापारीसँग पर्दाभित्र बसेर मिलोमत्तो गरेर बजारमा महंगी बढाउने पनि यिनै नागरिकका सेवक देउवा र ओली नै हुन् । महंगीको विरोधमा पुष्पकलम दाहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्ट वा अन्य पार्टी पनि बोल्दैन । यिनीहरु त पर्दा भित्र बसेर व्यापारीसँग मिलोमत्तो गरेर आफैँ महंगी बढाएर नागरिक लुटिरहेका छन् । झन् रवि लामिछाने त सफा पानीलाई धमिलो बनाएर, नेताहरुलाई हिलो छयाप्न व्यापारीहरुसँग मिल्न आएका नेता हुन् । उनले त झन् महंगीका विरोधमा कसरी आवाज उठाउँछन् । अब चुनाव नजिकिँदैछ व्यापारीले जे भन्यो राजनीतिक दलका नेताहरुले त्यहीँ मान्छन् ।

यदि व्यापारीले चन्दा नदिएमा राजनीतिक दलहरु चुनावसमेत लड्न सक्दैनन् । नेपालमा व्यापारीले जे भन्यो त्यहीँ हुन्छ, उनीहरुले आफ्नो फाइदाका लागि जति महंगी बढाए पनि यो देशमा राजनीतिक दलका नेताहरु सहमति गर्छन् । यता व्यापारी सामानको मूल्य बढाएर नागरिक ठग्छ भने उता त्यहीँ पैसा राजनीतिक दललाई चन्दा दिन्छ । फेरि राजनीतिक दलहरु हामी नागरिककै हितमा काम गर्छौं भन्छन् । अब हामी सर्वसाधारणले महंगीका कारण एक छाक पनि खान गाह्रो हुने दिन आइसकेको छ । अब हामीले एक दिनका लागि नपुग्ने खानेकुरा बाँच्नका लागि तीन दिनसम्म खानुपर्ने दिन आएको छ । अब सरकारले समयमै बजार अनुगमन गरेर नियन्त्रण नगरेमा दशैंमा नागरिकको घरको चुलोमा आगो बल्ने छैन ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतवार १६:११