मानवता भनेको जहिले पनि सम्भव भएसम्म अरूको हेरचाह र मद्दत गर्नु हो, आफ्नो स्वार्थलाई बिर्सनु हो । जब अरूलाई तपाईंको मद्दत चाहिन्छ, पृथ्वीमा रहेका प्रत्येक प्राणीलाई निःशर्त प्रेम विस्तार गर्नु हो, गरिब र अशक्तहरूको सेवा गर्नु हो । आर्थिक, सामाजिक, राजनीतिक, पर्यावरणीय संकटमा परेकाहरूलाई मद्दत गर्नु हो, कहिलेकाहीँ वृद्धाको भारी झोला उठाउनु हो, अपांगलाई बाटो काट्न सहयोग गर्नु हो, आफ्नै आमालाई काममा सघाउनु हो ।
मानवता मानिसमा हुने ईश्वरत्व हो, जसअन्तर्गत भलाई, सहयोग, आदर, सहअस्तित्वको भावना, मेलमिलाप, सद्भाव, प्रेम, नम्रता, एकता, सहनशीलता, धैर्यता सकारात्मक आचरण पर्छन् । मानवताभित्र पर्ने गुण र परिभाषा त थुप्रै छन्, तर के मानवता बाँकी छ ? कसैले ‘तिमी कहाँ छौँ ?’ भनी प्रश्न गर्दा अचेल मेरो जवाफ यस्तो हुने गर्छ । ‘मानवता हराएको बस्तीमा छु । घर नै घर ठडिएको जंगलमा छु । सिङ र पुच्छर नपलाएका पशुको समीपमा छु ।’
हिजोआज मानवता पाउनु भनेको हीरा पाउनुजत्तिकै भएको छ । समाजमा रहेका केही वर्गको क्षणिक स्वार्थ पूरा गर्न मानिसलाई नकारात्मकतर्फ डोर्याउने प्रयास हुँदै आएको छ । धर्मको नाममा होस् वा संस्कृतिको नाममा गरिने राजनीतिले अन्तत्वगोत्वा समाज अनि सिंगो देशलाई नै असर पार्दै आएको छ । दिनहुँजसो भेदभाव, हिंसा, अत्याचार, भ्रष्टाचार, युद्धलगायत अमानवीय क्रियाकलाप भइरहेको सुन्नमा आउँछ । जसले परिवार, समाज, राष्ट्र र विश्वको सामाजिक, आर्थिक, नैतिक, राजनीतिक, साँस्कृतिक, शैक्षिक, आध्यात्मिक, स्वास्थ्य, समृद्धि, खुशी लगायत पक्षमा नकारात्मक प्रभाव परिरहेको छ ।
भन्नलाई त हामी सर्वश्रेष्ठ प्राणी हौँ, तर किन आफ्नो लागि मात्र जनावरजस्तो जीवन बाचिरहेका छौँ ? मानवप्रति गरिने व्यवहार, सद्भाव दया, माया साथै कर्तव्य किन भुलिरहेका छौँ ? अमानवीय र असंवेदनशील क्रियाकलाप हरेक किन बढ्दैछ ? मानिसले किन मानिस चिनिरहेको छैन ? मानिसमा जुन डर र त्रास हुने गथ्र्याे आज त्यो गायब किन छ ? स्वार्थ पूरा गर्न मानिसले मानिसको टाउको छिनाउन हात किन काम्दैन ? कलम चलाउने हातहरू हतियारमा किन भर पर्दैछन् ? रगतले रगतको नाता किन बिर्सिसकेको छ ?
पैसालाई मान्छे सर्वश्व ठान्दैछ । पैसाले आफन्त किन्न खोज्दैछ । एउटी नारीमाथि अन्याय हुन्छ अत्याचार हुन्छ अनि त्यो नारीले तबसम्म न्याय पाउँदिनन् जबसम्म उसको पहुँच माथिसम्म हुँदैन । नारी मात्र होइन, यहाँ हरेकले न्याय पाउन ठूलै पहुँच हुनुपर्छ । बिहान उठेदेखि बेलुकी सुत्ने बेलासम्म विभिन्न छापा, रेडियो, टेलिभिजन र अनलाइनमा पढ्ने र सुन्ने गरिएका निकै क्रुर र अमानवीय समाचारका शीर्षकले मन–मस्तिष्कमा ठूलो आघात पुग्ने गर्छ । मानवता हराएको परिणाम हरेक दिन सुनिँदैछ ।
साँच्चै घण्टा घण्टामा हुने गरेका विभिन्न खाले अमानवीय क्रियाकलापले हामीलाई कतातिर लगिरहेको छ ? हाम्रो सोच र नैतिकता किन पतन हुँदै गरेको छ ? किन हामीमा विवेक शून्य छ ? हामीले पाएको र सिकेको संस्कार के हो ? हामी समाजलाई कतातिर लैजाँदैछौँ ? भविष्यका कर्णधारलाई के सिकाइरहेका छौँ ? आखिर यो के को संकेत हो ? मध्य कली ? हरेक मानिसको रगत रातै हुन्छ । भोक, शोक, रोग र निद्रा सबैलाई लाग्छ । सबै प्राणीले जन्मेर एकदिन मर्नै पर्छ र पनि किन हुन्छ विभेद ?
किन लुट्छ एउटाले अर्काको खुशी ? सायद आज मानवता भएको भए संसारमा गरिबी, बेरोजगारी, भोकमरी, भ्रष्टाचार र अत्याचारजस्ता क्रियाकलाप हुँदैनथ्यो । संसारका धनी व्यक्तिको स्वभाव जुकाको जस्तो नभइदिएको भए, सात पुस्तासम्म पुग्ने धन थुपार्न भ्रष्टाचार नगरिदिएको भए प्रत्येक देशको, प्रत्येक समाजको सुख, शान्ति र आनन्द कायम रहन्थ्यो । फेरि पनि सकारात्मक सार्थक जीवन जिउनु नै मानवता हो ।
तर, खै मानवता र मानवीय गुण ?
बाबुद्वारा छोरी बलात्कृत हुँदै छिन् । १२ वर्षकी किशोरीलाई सामूहिक बलात्कार गरिन्छ । आमाले आफ्नै सन्तानको हत्या गर्छिन् । श्रीमान्द्वारा श्रीमतीको घाँटी रेटिन्छ । गाउँले मिलेर लखेटी–लखेटी हत्या र बोक्सीको आरोपमा कुटेर गाउँ निकाला गरिन्छ । प्रेमीले प्रेमिकाको ज्यान लिन्छ । ज्वाइँले ससुराको हत्या, दाजुले भाइको हत्या, कतै जातको नाममा हत्या, कतै धर्मको नाममा हत्या, कतै लेनदेनको नाममा हत्या, कतै मदिरा सेवन गरी हत्या । बिहान निस्केपछि बेलुकी घरमा सकुशल फर्कन सकिने हो कि होइन थाहा हुन्न ।
मनमा ठूलो डर बोकी हिँड्नुपर्छ । कतै श्रीमती पीडित, कतै श्रीमान् पीडित, कतै छोरी पीडित, कतै बुहारी पीडित, कतै दिदीबहिनी पीडित । आफ्नै पिताले नरपिचासको रूप धारण गर्छ अनि छोरी, बुहारी केही नसोची बलात्कार गर्छ । त्यतिले मात्र नभएर हत्यासम्म गर्न पछि पर्दैन । आफ्नो सन्तानलाई सुन्दर संसार देखाउन अनेक दुःख, कष्ट, पिर र व्यथा भुलेकी आमा आफ्नै छोराको हातबाट मर्नुपरेको छ । के मानव समाजको पहिचान क्रूरता नै हो ? मानवताकै कारण हामीलाई अरू प्राणीभन्दा भिन्न बनाउँछ ।
मानवता नै हो जसले हामीलाई पहिचान दिलाउँछ । तर खै त्यो मानवता जब भोको पेट भर्न सकिन्न ? नांगोको लाज ढाक्न सकिन्न ? आफ्नो र पराई चिनिँदैन ? सही र गलतको अन्तर थाहा हुँदैन ? स्वरूप मानवको अनि हर्कत पशुको जस्तै हुन्छ । निच र पतित सोचाइहरूलाई परिवर्तन गर्ने कसले ? बाल अधिकारको नारा कसलाई ? महिला अधिकारको नारा केका निम्ति ? मानव अधिकार कसलाई ? संस्कारसहितको शिक्षा कसलाई ? राज्य कसलाई ? राज्यको नियम र कानुन कसलाई ? जसले जे गर्दा पनि हुने कस्तो स्वतन्त्रता ? खुलेयाम मार्दिए पनि हुने, मर्दिए पनि हुने कस्तो जंगली प्रवृत्ति ?
पशुले आफ्नो चेतना गुमाएर धर्म, कर्म भुलेको छैन । गाईले घाँस खान्थ्यो, अझै खान्छ । कुकुरले गु खान्थ्यो अझै खान्छ तर किन मान्छेले आफ्नो धर्म, कर्म अनि मानवीय स्वभाव गुमायो ? ऊ किन पशुभन्दा पनि निच हुन पुग्यो ? नीति, नियम र कानुनसँग नडराए पनि आफूभित्रको ईश्वरसँग त डराउनुपर्छ नि । सृष्टिकर्ताले कर्मको फल दिन्छन् भन्ने चेत हुनुपर्छ नि ! आफ्नो कारणले अरुलाई रुवाएर हाँस्न कसरी सकेको ? पैतालाले किरा मारेझैँ मान्छेलाई सहज तरिकाले मारेर आफू कसरी बाँच्न सकेको ? पछुतो, पीडा, छटपटी, बेचैनी, अशान्ति यी कुनै कुरा पनि अनुभूत हुँदैनन् ?
जन आस्थाबाट
सुशीला नाथ योगी ।