सूचनाको शक्ति - The Power Of Information

        

काँचो स्याउ टिप्दै मुगुका किसान

छायाँनाथ रारा नगरपालिका–५ का स्याउ किसान बिस्नमाया रोकायाका परिवारलाई अचेल स्याउ टिप्न भ्याइनभ्याइ छ । भदौ लागेसँगै उनको परिवार बिहानैदेखि बगैँचामै हुने गरेको छ ।

मुगुसहितका भेगमा अहिले स्याउ पाक्ने बेला हो । यसकारण यहाँका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ । वडा नम्बर ४ का किसान हरिबहादुर भाम पनि स्याउ टिप्न व्यस्त छन् । उनीहरू मात्र होइन यतिबेला मुगुका स्याउ उत्पादन हुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ ।

मुगुका बाम, ताल्च, रोवा, शोभा, खमाले सेरी लगायतका क्षेत्रमा स्याउको पकेट क्षेत्र मानिन्छ । हुनत यो समय स्याउ टिप्नको लागि उपयुक्त समय होइन । मुगुमा स्याउ टिप्ने समय भदौको अन्तिम तथा असोजतिर मात्रै हो ।

भदौ अन्तिमतिर सबैले एकै पटक स्याउ टिपे स्याउले बजार नपाउने हुन्छ । कतिपय त रूखमै कुहिने भएकाले अहिले नै धमाधम काँचो स्याउ टिपेर बगैँचा खाली गर्न थालेको किसानहरू बताउँछन् ।

केही किसान भने स्याउ भण्डारण गर्ने ठाउँ नभएको बताउँदै व्पायारी बगैँचामा आएको मौकामा स्याउ बेच्न लागेको बताउँछन् । ‘व्यापारी अहिले नै आएका छन् अलिअलि काँचो भए पनि लैजान्छन्,’ किसान हरिबहादुर भामले भने ।

यतिबेला स्याउ व्यापारी बगैँचामा आएर प्रतिकेजी ३० रुपैयाँमा लिने गरेका किसानहरू बताउँछन् । आफूले पनि उत्पादन धेरै भएको स्याउ बजारीकरणको समस्याले कुहिने डरले बिक्री गर्ने गरेका स्याउ किसान सूर्यप्रकाश भामले बताए ।

उनका अनुसार स्याउ राख्ने कार्टुन नहुँदा पनि समस्या भएको छ । बिस्नमाया रोकायाका बारीमा १५ सय स्याउका बोट छन् । यो वर्ष स्याउ उत्पादन धेरै हुने भएकाले उनलाई कसरी बेच्ने भन्ने चिन्ता लाग्न थालेको छ ।

उनले भनिन्, ‘नेपालगन्ज, सुर्खेत लगायतका बजारमा लैजाने योजना छ,’ उनले भनिन् । स्याउ उत्पादन धेरै भए पनि मुगु जाने राम्रो सडक छैन । गत वर्षभन्दा यसपटक स्याउ उत्पादन वृद्धि हुने अनुमान जिल्ला कृषि विकास कार्यालय मुगुले पिन गरेको छ ।

निमित्त कार्यालय प्रमुख दुर्गाबहादुर शाहीले भने, ‘अघिल्लो वर्षमा ३४ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।’ यस वर्ष जिल्लामा गत वर्षभन्दा ५ देखि १० प्रतिशत स्याउ उत्पादनमा वृद्धि हुने शाहीले बताए । मुगुमा विशेष गरी तीन प्रकारका रोयल डेलिसेस्, रेट डेलिसेस्, र गोल्डेन डेलिसेस् स्याउ उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार १७:२५