सूचनाको शक्ति - The Power Of Information

        

थारू समुदायमा भोलि मनाइँदै अटवारी पर्व

भोली आइतबार थारू समुदायको व्रत बस्ने अटवारी पर्व मनाइँदैछ । तराईका तराईको पश्चिम कञ्चनपुरदेखि पूर्व झापासम्म अटवारी पर्व मनाउने गरिन्छ । थारू बहुल रहेका तराईका जिल्लामा भोली आइतबार अटवारी पर्व मनाइन्छ ।

विशेषगरी थारू पुरुषले ब्रत बस्ने यो पर्वलाई पूर्वका थारूले ‘रैव’ भनेर मनाउँछन् । थारू बहुल रहेका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत लगायतका जिल्लामा बर्का अटवारी मनाइन्छ । अटवारी पर्वका लागि आज शनिबार राती दर खाने गरिन्छ ।

कुखुराको भाले बास्नुअघि दर खाइसक्नुपर्ने थारू अगुवाहरु बताउँछन् । थारु आयोगले थारु समुदायको यस वर्षको अटवारी पर्व भदौ १२ गते आइतबार परेको जनाएको छ । थारू आयोगले जारी गरेको विज्ञप्तिपछि सरकारी निकाय र थारु सम्बद्ध संघ संस्थाले पनि १२ गते आइतबार नै अटवारी भएको भन्दै स्थानीय विदासमेत दिएका छन् ।

थारू संस्कृतिका जानकार वालगोविन्द चौधरीले १२ गतेलाई अटवारी मानिए पनि १९ गतेको आइतबारलाई पनि सानो पर्वको रुपमा मनाइने बताए । उनले भने, ‘तीजपछिको पहिलो आइतबार भनेर मान्दै आए पनि अटवारी पर्वको मिति एकरुपता विषयमा थारू समुदायमा अन्योल देखिन्छ, एकरुपतामा ध्यान दिनुपर्छ ।’

यस विषयमा थारु संस्कृतिका बारेमा खोज अनुसन्धान गरिरहेका उदयराज आलेले पर्वहरु ठाउँ विशेषअनुसार फरक दिन र हिसावले मनाउने गरिएको बताउँछन् । उनी भन्छन्, ‘अन्य स्थानमा आइतबार मात्रै अर्थात तीजपछिकै पहिलो आइतबार मनाउने गरेको पाइन्छ ।’

उनका अनुसार अटवारी पर्वमा एकरुपता ल्याउने प्रयास भने थारु समुदाय र सम्बद्ध संस्थामा क्रियाशीलता देखिन्छ, जुन राम्रो पक्ष हो । थारु संस्कृतिबारेमा अध्ययन गरेका थारु साहित्यकार छविलाल कोपिलाले तिजपछिको पहिलो आइतबार अट्वारी हो भन्ने दावा गलत भएको बताए ।

उनका अनुसार भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्म, भदौ महिनाको पहिलो आइतबारदेखि औंसीको पहिलो आइतबारसम्म, कुशे औंसीको पहिलो आइतबारदेखि दशैंसम्मको ५ आइतबार र कुशे औंसीको पहिलो आइतबार मात्र व्रत बस्ने यी चार थरिका व्रतालुको साझा दिन कुशे औंसीको पहिलो आइतबारको अटवारी भएकोले यसलाई ‘बर्का अटवारी’ भनिएको हो ।

थारू अगुवा तथा बुद्धिजिवीहरुका अनुसार कृष्णा जन्माष्टमी पछिको दोस्रो आइतबार नै अटवारी मनाइन्छ । आइतबार पर्ने पर्व भएकाले यस पर्वको नाम अटवारी रहन गएको थारू बुद्धिजिवीहरुको भनाइ छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार १६:५६