सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसले समानुपातिक सांसद भएकालाई नदोहोर्‍याउने

नेपाली कांग्रेसले अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ सांसद बनेकाहरुलाई नदोहोर्‍याउने भएको छ ।

कांग्रेसले शुक्रबार पार्टीको स्थानीय निकायलाई गरेको परिपत्रमा २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सांसद बनेकाको नाम फेरि समानुपातिकतर्फ सिफारिस नगर्न उल्लेख गरेको छ ।

कांग्रेसको परिपत्र अनुसार अब अघिल्लो पटक समानुपातिक सांसद भएकाहरु फेरि समानुपातिक सांसद बन्न नपाउने भएका हुन् । कांग्रेस महामन्त्री गगन थापाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको नाम सिफारिस गर्न पार्टीको तल्लो निकायलाई परिपत्र गरेका हुन् ।

उनले ७७ वटै जिल्ला कार्यसमिति, १६५ वटै क्षेत्रीय कार्यसमिति र ३३० प्रदेश कार्यसमितिलाई उम्मेदवारको नाम पठाउन परिपत्रमा भनेका छन् । कांग्रेसको विधानमा दोहोरिएर प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिक उम्मेदवार बन्न नपाउने प्रावधान छ ।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा र प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन,’ विधानको धारा ३३ मा उल्लेख छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार १६:१७