प्रेस काउन्सिल नेपालले दार्चुलाका पत्रकार सन्तोषसिंह ठगुन्नासँग समाचारको गोप्य स्रोत ‘लिक’ गरेको सम्बन्धमा जवाफ पेश गर्न आज २४ घण्टे पुर्जी काटेको छ ।
पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) दफा ४(८) उल्लङ्घन गर्नुका साथै स्रोतलाई गम्भीर क्षति पुग्ने गरी नाम र पहिचान उल्लेख गरेको सम्बन्धमा काउन्सिलले उनलाई स्पष्टीकरण सोधेको हो ।
सशस्त्र प्रहरीमा राशनको नाममा हुने बेथितीका विषयमा सम्प्रेषित समाचारको गोप्य स्रोत ‘लिक’ गरी ठगुन्नाले पत्रकार आचारसंहिता प्रतिकूल कार्य गरेको सम्बन्धमा परेको उजुरीमाथि छानवीन गर्ने क्रममा काउन्सिलले अनुसन्धान थालेको हो ।
उनले सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलाका प्रहरीमार्फत सूचना पाएको भनी प्रहरीमा लिखित बयान दिएको जिकिरसहितको उजुरी काउन्सिलमा परेको थियो । समाचारमा बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीको रासन भत्ता गणका प्रमुख एसपी त्रिभुवन बिष्टको व्यक्तिगत खातामा जाने गरेको आरोप लगाइएको थियो ।
यद्यपि समाचारमा स्रोत भने खुलेको थिएन । समाचार प्रकाशित भएको दुई दिनपछि ४४ नम्बर गणले खण्डन गर्दै भन्यो, ‘समाचारमा कपोकल्पित, निराधार कुरा लेखी बदनियतपूर्ण, सीमा सुरक्षामा आँच आउने र सीमा सुरक्षामा खटिएको सुरक्षा फौजलाई कमजोर पार्ने काम भएको छ ।’
खण्डन प्रकाशन भए पनि बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीको नाममा एसपीले रासन भत्ता खाएको आरोप लागेपछि उक्त सूचना मिडियासम्म पुर्याउनेको खोजी गर्न एसपी बिष्ट स्वयं खटिएका थिए । उनैले बयानका कागज सार्वजनिक गरेको भन्दै छानवीनका लागि यो विषय काउन्सिलमा पुगेको थियो ।
समाचारका स्रोत भनिएका सशस्त्र प्रहरीका वरिष्ठ सहायक हवल्दार नरेशसिंह साहुलाई भने हातहतियार सम्बन्धी अर्कै मुद्दा लगाई कारवाही प्रक्रिया थालिएको छ । बेथिति र भ्रष्टाचार गरेको आशंकामा गण प्रमुख बिष्टलाई सशस्त्र प्रहरीले मुख्यालय तानेको छ ।
दार्चुला सदरमुकाम खलंगास्थित गणमा कार्यरत हवल्दार साहुलाई आन्तरिक सूचना पत्रकारलाई दिएको आरोपमा जन्मकैदको माग दाबीसहित मुद्दा चलाएर पुर्पक्षको निम्ति जेल पठाइएको छ । ऊनी अहिले डिल्लीबजार कारागारमा छन् ।
उनीविरुद्ध सशस्त्र प्रहरीको विशेष अदालतमा असार २२ गते मुद्दा दायर गरिएको थियो । उक्त गणमा कार्यरत २५८ मध्ये १२२ जना सुरक्षाकर्मी एकैदिन अनुपस्थित भएको विवरणसहित जेठ २८ गते धनगढीबाट सञ्चालित दिनेशखबर डटकम अनलाइनमा समाचार सार्वजनिक भएको थियो ।
केही दिन उपस्थित र अनुपस्थित प्रहरी कर्मचारीको संख्यात्मक विवरणसहित समाचार सम्प्रेषण भएको हो । साहुले त्यहाँ कार्यरत जनशक्तिमध्ये आधाजसो विदा बस्ने गरेको विवरण आफ्नो मोबाइलबाट ठगुन्नालाई पठाएका थिए ।
समाचार सार्वजनिक भएलगत्तै सशस्त्रले ठगुन्नालाई गण हेडक्वार्टरमा बोलाएर नरेशबाटै आफूले जानकारी पाएको लिखत विवरण टिपेको थियो । समाचार प्रयोजनका लागि आफूलाई सूचना वा जानकारी उपलब्ध गराउने स्रोतको गोपनीयता र सुरक्षा गर्नुपर्नेमा ठगुन्नाले स्रोतको रक्षा गर्न नसकेकै कारण साहु जेल पुगेका हुन् ।
ठगुन्ना आफैले पनि नियत खराब नहुँदा नहुँदै पनि स्रोतको रक्षा गर्न नसकेको स्वीकार गरेका छन् । यद्यपि उनले सशस्त्र प्रहरीले पहिले नै तयार गरिएका कागजमा सही गराएको तर आफूले बयान नदिएको जिकिर गरेका छन् ।
सत्यपाटी । ।