सूचनाको शक्ति - The Power Of Information

        

कोठा भाडामा लिएर ब्राउनसुगर कारोबार

कोठा भाडामा लिएर लागुऔषध ब्राउनसुगर (खैरो हेरोइन)को कारोबार गर्ने गिरोह विराटनगरमा सक्रिय रहेको पाइएको छ ।

भारतबाट लुकाईछिपाई ल्याएको ब्राउनसुगर भाडाको कोठामा राखेर लागुऔषधका प्रयोगकर्तालाई बिक्री गर्ने गरेको खुलेको हो । ब्राउनसुगरको किनबेचमा संलग्न महिलासहित ६ जना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–१४ का विपिन शर्माको घरमा डेरा बस्ने सुनसरीको रामधुनी नगरपालिका–८ की २७ वर्षीया शरस्वती गुरुङले भाडाको कोठाबाट ब्राउन सुगरको कारोबार गर्ने गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

कोठाबाट १४ ग्राम ६१ मिलिग्राम ब्राउनसुगर र किनबेचका क्रममा तौल लिन प्रयोग गरिने डिजिटल तराजु बरामद भएको छ भने प्रहरीले गुरुङसहित ६ जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार ११:०१