माछाको पखेंटा अड्किएर गोहीको प्राण जान्छ भन्ने कुरा सुन्दा–देख्दा जो कोहिलाई पनि पत्यार नलाग्न सक्छ । घट्ना त्यस्तै २०५१ साल कात्तिक अन्तिमतिरको हो । म त्यसबेला कोशीटप्पु वन्यजन्तु आरक्षमा रेञ्जर पदमा कार्यरत थिएँ । आरक्षभित्र पाइने चराचुरङ्गी, जलचर र अन्य विविध वन्यजन्तुहरुको अध्ययन गर्नु मेरो कर्म र धर्म थियो । त्यसै शिलशिलामा आरक्ष क्षेत्रको मधुवन क्षेत्र नजिक कोशी किनारमा हिँड्दै गर्दा पानीको छालसँगै स्वच्छ, सफा र चम्किलो नदी किनारको बगरमा एउटा घडियाल घाम तापेर बसिरहको देखें ।
यो दृश्य देखेर मेरो मनै फुरुङ्ग भयो । दुरविन निकालेर हेर्दै घडियाल विश्राम गरेको बगरतिर उत्सुकताका साथ अगाडि बढेँ । तर विडम्वना त्यो विश्राम गरिरहेको ठानेको घडियाल चटपट गरेजस्तो लागेन । सामान्यतया घडियालहरु नदि तटमा घाम ताप्न बस्दछन् र नजिकै कुनै मानिस देख्ने बितिक्कै झटपट् पानीमा पसिहाल्छन् । तर त्यो घडियाल त्यस दिन नदीभित्र गएन । मलाई त अचम्म लाग्न थाल्यो किनकि उ बसेको नजिकै पुग्दा पनि हलचल नै गरेन । मेरो मनमा शंका उब्जियो, पक्कै पनि घडियाल मरेको हुनुपर्छ ! नभन्दै त्यो घडियाल मरिसकेको रहेछ ।
मृतः घडियाल हेर्दा फूर्तिलो, चिल्लो र स्वस्थ्य देखिन्थ्यो । शरिरको बहिरी भागमा कुनै चोटपटक पनि थिएन । तर त्यस गोहीलाई चिरफार गरेर हेर्दा घाँटीमा काँडा (टाउको पछाडिको पखेटा) कान नजिक घोपिएको रहेछ । काँटी–टेङ्गरी माछाका प्रजातिका कान र ढाड पछाडिको भागमा पखेंटाजस्तो आकारका तिखातिखा काँडा रहेको झिलहरु रहन्छन् । यि काँडासहितका झिलहरुले पानीमा पौडन र आवश्यक पर्दा शत्रुहरुलाई घोच्नसमेत सहयोग पुर्याउँछ । झट्ट हेर्दा पखेटाजस्तो देखिने तर छाम्दामात्र काँडा रहेको आभास पाइन्छ । काँटी माछा क्याटफिस प्रजातिमा पर्छ ।
घडियालले काँटी माछाको टाउको छिनालेर फालेको ।
क्याट फिस प्रजातिका माछाहरुको पखेटामा रहने काँडा मुखमा घोचिने डरले घडियालले तिनिहरुको टाउको फालेर अरु भागमात्र खान्छ । वोटे भाषामा माछाको पखेंटालाई ‘पखिना’ भनिन्छ । ढाड र कान पछाडिको पखिनाको काँटो (काँडा) तिखो र खतरनाक हुन्छ । त्यसैले घडियालले खानुभन्दा अगाडि नै माछाको टाउको ढाडबाट नै चुँडाएर फालीदिन्छ । हुन त अरु जातको माछाहरु टाउँकोबाटै घडियालले निल्न सुरु गर्दछ भने क्याट फिस जातको माछाको टाउको खाँदैन ।
कहिलेकाहीं घडियालले क्याट फिस खाने क्रममा दाँतले च्याप्प माछाको ढाडमा अठ्याउँछ र दायाँ–वायाँ आप्नो मुन्टो झट्कारेर माछाको टाउकोलाई घुयाँत्रो हानेजस्तै गरेर छुट्ट्याएर फालिदिन्छ र पछिल्तिरको बाँकी भागमात्र खान्छ । यस्तो गर्ने क्रममा कहिलेकांही माछाको टाउको पछाडिको पखेटाको काँडा शरीरको भागमै छोडिन्छ र माछा निल्दा काँडा घडियालको घाँटीमा अड्केर मर्न सक्ने सम्भावना रहन्छ । यो घडियाल पनि त्यसै भएर मरेको थियो ।
आरक्षको नदीमा घरियाल गोहीको उपस्थिति देख्न पाउँदा अत्यन्त हर्षित थिएँ, तर आहारा ग्रहण गर्ने क्रममा घडियालले मृत्युवरण गर्न पुगेछ । यो घडियालको मृत्यु हुनमा मानवीय त्रुटिहरुको कुनै भूमिका नरहेको र प्राकृतिक तर अनौठो दुर्घटना देखिएकाले यहाँ ब्याख्या गर्ने विचार गर्दै चित्त बुझाउँदै कार्यालयतिर फर्किएँ । तर अनुभव बताउने मौका कति वर्षपछि आयो पाठक आँफैले हिसाब गरौं है । (गोही अध्ययन र संरक्षणमा चासो राख्ने लेखक खड्का चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत हुन् ।)
पहिलो पोष्टबाट
वेदबहादुर खड्का ।