कोरोना सङ्क्रमणले भयावह रूप लिएपछि एकैपटक एक हजार जना सङ्क्रमितलाई राखेर उपचार तथा रेखदेख गर्न सकिने गरी नेपालगन्जमा अत्याधुनिक होल्डिङ सेन्टर निर्माण सम्पन्न गरिएको छ ।
२९ करोड ३८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरेर ठेकेदार कम्पनीले सेनालाई होल्डिङ सेन्टरको भवन हस्तान्तरणसमेत गरिसकेको छ । सेनाले केन्द्र, प्रदेश र स्थानीयमध्ये कुन सरकारलाई सो सेन्टर हस्तान्तरण गर्ने भन्ने अन्योलले गर्दा अझै हस्तान्तरण हुन सकेको छैन ।
हस्तान्तरण नभएकाले उक्त होल्डिङ सेन्टरलाई उपयोगमा ल्याउन नसकिएको जनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक सूर्यबहादुर खत्रीले अहिलेसम्म सो होल्डिङ सेन्टर प्रयोग गर्नुपर्ने अवस्था नआएकाले उपयोग नगरिएको जनाउँदै हस्तान्तरणसम्बन्धी निर्णय केन्द्रबाट आउन बाँकी रहेको बताए ।
उनले केन्द्रीय कोभिड व्यवस्थापन समितिले निर्णय गरेर पठाइसकेपछि मात्रै केन्द्र, प्रदेश वा स्थानीय सरकारमध्ये एउटालाई सेनाले हस्तान्तरण गर्ने बताए । हस्तान्तरणको विषयमा निर्णय नभए पनि आवश्यक परेको बेला उपयोग गर्ने विषयमा कुनै अन्योलता र समस्या नरहेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।
कोरोना सङ्क्रमण बढेर भेरी अस्पतालको क्षमताले थेग्न नसकेपछि सीमा क्षेत्रमा सङ्क्रमितलाई राखेर उपचार गर्ने गरी हजार शैय्याको होल्डिङ सेन्टर निर्माण गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाको भवनीयापुरमा सेनाले एक हजार शैय्या क्षमताको होल्डिङ सेन्टर बनाएको छ । सेन्टरमा विभिन्न २२ वटा ब्लक रहेका छन् ।
होल्डिङ सेन्टरमा आधुनिक धारा र शौचालय बनाइएको छ । अक्सिजन भण्डारण गर्न छुट्टै कोठा छन् । दुई वटा भवन चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि छुट्याइएको छ भने खाना पकाउने र खाने ठूल्ठूला कक्ष निर्माण गरिएका छन् । विशाल अस्पतालजस्तै देखिने होल्डिङ सेन्टरको निर्माण सकेर ठेकेदारले गत साउन १३ मा सेनालाई हस्तान्तरण गरेको थियो ।
हाल आएर फेरि कोभिड सङ्क्रमण बढ्दै गएको छ । नेपालगन्जको जमुनाह नाका हुँदै आउनेको रगत परीक्षण गर्दा नेपाल र भारत दुवैतिरका नागरिकमा सङ्क्रमण देखिन थालेको हो । यस्तो अवस्थामा होल्डिङ सेन्टरलाई कुनै पनि बेला प्रयोग गर्ने गरी तयारी अवस्थामा राख्नुपर्ने जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।
समितिका कोभिड फोकल पर्सन तेज ओलीले हस्तान्तरणको विषय छिटो टुङ्ग्याउन केन्द्रमा पनि आग्रह गरिएको बताए । हाल बाँकेमा ५४ जना सक्रिय सङ्क्रमित रहेकामा एक जनाले अस्पतालमा उपचार गराइरहेको र ५३ जना होम आइसोलेसनमा रहेको कोभिड फोकल पर्सन ओलीले जानकारी दिए ।
सत्यपाटी । बाँके ।