कैलालीमा प्रहरीले पक्राउ गरेर ल्याउँदै गर्दा एक अभियुक्त नदीमा हामफालेका छन् । कैलाली प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले हतकडी लगाएर ल्याउँदै गरेका व्यक्ति भागेको जानकारी दिए ।
शुक्रबार दिउँसो जोशीपुर गाउँपालिका ४ बाणीका २८ वर्षीय शंकर चौधरी नदीमा हामफालेका हुन् । एउटा हातमा मात्रै हतकडी लगाइएका उनी अहिले नदीबाट बाहिर निस्किएर लुकिरहेको पनि एसपी राठौरले बताए । शंकरविरुद्ध उनका बुबा शम्भुले जाहेरी दिएका थिए ।
बाबुको जाहेरीपछि इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनले कुटपिट गरेका बाबुको आरोप छ । फरार चौधरीलाई खोज्न ईलाका प्रहरी कार्यालय जोशीपुर र ईलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ ।
सत्यपाटी । कैलाली ।