सूचनाको शक्ति - The Power Of Information

        

संरक्षणको पर्खाइमा कर्णालीको ‘हुड्के नाच’

कर्णाली प्रदेशको परम्परागत चर्चित हुड्के नाच संरक्षण तथा प्रवद्र्धनको पर्खाइमा रहेको छ । पछिल्लो पुस्ताले उक्त नाचप्रति ध्यान दिन नसक्नु र मानिसमा दलित समुदायले मागेर खाने बुझाइ हुन थालेपछि यो नाच लोप हुने अवस्थामा पुगेको हो ।

ऐतिहासिक र धार्मिक महत्वसमेत बोके को कर्णालीका दलित समुदायले नाच्ने हुड्के नाँच संरक्षण र प्रवद्र्धनको पर्खाइमा रहेको सिमकोट गाउँपालिका–२ का मिमसिंह नेपालीले बताए । जन्म र मृत्युदेखि चाडपर्व र गाउँमा विशेष व्यक्तिको आगमन हुँदा स्वागत तथा मनोरञ्जन प्रदान गर्न यो नाच नाच्ने गरिन्छ ।

उनले पछिल्लो पुस्ताको हुड्के नाचप्रति पूर्णरूपमा विमति रहेको कारण नयाँ युवामा नाच सिक्ने प्रयाससमेत नभएको बताए । पहिले कर्णालीका अधिकांश दलित बस्ती हुने गाउँमा दुई–चार जना हुड्के नाच नाच्ने कलाकार हुनु सामान्य जस्तै भए पनि अहिले भने उक्त नाच नाच्ने कलाकार पाउन मुस्किल हुन थालेको छ ।

हुड्के नाचमा गीत (भाट्टो) गाएर रामसीताको कहानी सुनाउने र आफ्ना मालिकलाई रामसीताकै जस्तो हुनु परोस् भनेर गीतबाटै आशिष दिने गरिन्छ । मानिस मर्दा मलामीसँगै हुड्के नाच्ने कलाकारले मृतकको स्वर्गवासको कामना पनि गीतबाटै र मृतकले जीवनमा भोगेका गुण तथा अवगुणको पनि व्याख्या गरिन्छ ।

उनले अर्को कुरा पछिल्लो पुस्ताले यो पेसा अँगाल्नुभन्दा अन्य पेसा अँगाल्दा फाइदा हुने देखेका कारण पनि लोप हुने अवस्थामा पुगेको बताए । दलितहरूले हुड्के नाचेर मागेर खाने बुझाइको भान सर्वसाधारणमा हुन थालेपछि पनि दलित समुदाय नाचप्रति आकर्षण घटेको पनि उनले बताए ।

अर्को कुरा हुड्को निर्माण गर्नका लागि र तुवाको छाला आवश्यक पर्ने तर अहिले त्यो पाउन कठिन हुने गरेको छ । यद्यपि दलितहरूले कामचलाउ रूपमा खसीको भुडीबाट हुड्कोलाई बेरेर बनाएको पाइन्छ, तर त्यसबाट राम्रो धुन भने आउन सक्दैन । उनले सांस्कृति महत्व बोकेको यो नाचलाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार १५:४०