सूचनाको शक्ति - The Power Of Information

        

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

 पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज शुक्रबार पनि बस्दैछ ।

बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ–आफ्नै दाबी प्रस्तुत भएपछि सिट बाँडफाँट टुङ्ग्याउन शुक्रबार बैठक बस्न लागेको हो ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्र छन् । तर, सत्ता गठबन्धनभित्रका पाँच दलले दुई सय ३४ सिटमा दाबी गरेका छन्  ।

बिहीबार बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले २ सिटको दाबी पेश गरेका छन् ।

समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समयसीमा तीन साता पनि बाँकी नरहेकाले गठबन्धनमा सिट बाँडफाँड चाँडै टुंग्याउनुपर्ने दबाब छ  । तर, प्रत्यक्षतर्फकै बाँडफाँडमा किचलो हुने संकेत देखिएको छ ।

यद्यपि, गठबन्धनका नेताहरूले भने औपचारिक रूपमा आएको दाबीले सिट बाँडफाँडको आधार बनाएको र यसले सहमति खोज्न सहज हुने दाबी गरेका छन् ।

शुक्रबार बस्ने बैठकमा दलहरूले क्षेत्र नै तोकेर आफ्नो दाबी पेस गर्ने तयारी गरेका छन् ।

संख्यामा दलहरूका आ–आफ्ना दाबी पेस भएपछि शीर्ष नेताले सिट बाँडफाँडसम्बन्धी कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदललाई निर्वाचन क्षेत्रपिच्छे गठबन्धनको विवरण तयार गर्न निर्देशन दिएका छन् ।

सिट बाँडफाँट टुंगोमा पुग्नका लागि कार्यदलको बैठक झन्डै एक महिना देखि चलिरहेको भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार ०९:२४