सूचनाको शक्ति - The Power Of Information

        

नेपाल र केन्याबीचको दोस्रो खेल आज

नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको दोस्रो खेल आज शुक्रबार हुनेछ ।

केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट रंगशालामा दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ ।

शुक्रबारको खेल पनि जित्दै नेपाल श्रृंखलामा २–० को अग्रता लिने लक्ष्यमा रहेको छ । यता, केन्या भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।

बिहीबार भएको पहिलो खेलमा केन्यालाई ५ विकेटले हराउँदै नेपालले १–० को अग्रता लिईसकेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहबिार केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाउँदा ज्ञानेन्द्र मल्लले २३ रन तथा आरिफ शेख २४ रनमा अविजित रहे । केन्याका लुकास ओलुओच र भिराज पटेलले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।

नेपालले केन्याविरुद्ध आइतबार तेस्रो खेल खेल्नेछ । त्यस्तै दुई टोलीबीच चौंथो खेल सोमबार र पाँचौ तथा अन्तिम खेल मंगलबार हुनेछ ।

टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग तीन एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार ०८:४९