सूचनाको शक्ति - The Power Of Information

        

चर्काचर्कीपछि बालेन्द्रले भने, ‘तपाईँको घरको नक्सा मसँग हुन्छ ?’

नक्सा पासमा भएको भन्दा फरक ढङ्गले बनाएका अवैध संरचनाहरू हटाउँदै हिँडेका काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र साहले चर्काचर्की गरेका छन् ।

महानगरको दलबलसहित अल्फा बिटा कम्प्लेक्सको अवैध संरचना हटाउन पुगेका मेयर र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच चर्काचर्की भएको हो ।

अल्फा बिटाले सडकपेटीमै पार्किङ गराइरहेको र नक्सामा उल्लेख भएभन्दा बाहेकको संरचना बनाएको भन्दै मेयर बालेन्द्रले तत्काल भत्काउन निर्देशन दिए ।

आफूले नक्सा पासअनुसार नै संरचना बनाएको निर्देशक शर्माले जवाफ दिएपछि मेयर साहले नक्सा माग्दा दुई जनाबीच चर्काचर्की परेको हो ।

साहले नक्सा माग्दा निर्देशक शर्माले ‘नक्सा मँसँग होइन तपाईँसँग हुनुपर्छ,’ भन्ने जवाफ दिएपछि साह झोक्किए अनि उनले सोधे, ‘तपाईँको घरको नक्सा मसँग हुनुपर्छ हो ?’

अल्फाबिटाका निर्देशक शर्माले उल्टै प्रतिप्रश्न गरे, ‘नगरपालिकामा के हुन्छ त ?’ दुई जनाबीच केहीबेर चर्काचर्की भयो । चेतावनी दिएर मेयर साह अरू ठाउँको निरीक्षणमा गएका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार १४:१२