सूचनाको शक्ति - The Power Of Information

        

गठबन्धनलाई सिट बाँडफाँट टुङ्ग्याउन मुश्किल

आउँदो चुनावमा गठबन्धन गर्ने निर्णय गरेको सत्ता गठबन्धनलाई सिट बाँडफाँट गर्न मुश्किल हुने देखिएको छ ।

गठबन्धनले बनाएको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटको टुङ्गो लगाउन नसकेपछि आजै बसेको शीर्ष नेताहरु बैठक पनि बिना निष्कर्ष टुङ्गिएको छ । बैठकमा सामान्य छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको एक नेताले जानकारी दिए ।

अब कार्यदलको बैठकमै थप पहल गर्ने र शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको छ । शीर्ष नेताको बैठकले अघिल्लो संसदीय चुनाव र गएको वैशाखमा भएको पालिका चुनावको जिल्लागत प्रतिवेदन पेस गर्न पनि कार्यदललाई निर्देशन दिएको छ ।

एक नेताका अनुसार बैठकमा नेपाली कांग्रेसले १०० सिटमा दाबी गरेको छ । त्यस्तै माओवादी केन्द्रले ६० सिटमा दाबी गरेको छ । आजको बैठकमा कांग्रेसका महामन्त्री गगन थापाले १०० सिट कांग्रेसले पाउनुपर्ने दाबी गरेका छन् ।

तर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले ८० देखि ९० सिटसम्म दाबी गर्ने हिसाबले कुरा गरेको स्रोतले जनाएको छ । माओवादीले पहिले जितेको ठाउँमा स्वतह सम्बन्धित दलले नै टिकट पाउने र माओवादीले जितेको ठाउँमा भागबण्डा गर्नुपर्ने मागलाई दोस्रो विकल्पका रुपमा अघि सारेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार १४:०२