भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा नसमेटिँदा नेपाली जडिबुटी नेपालगन्जमै थन्किएको छ । भारत निर्यात हुन नसकेपछि करिब दुई हजार टन जडिबुटी नेपालगन्जस्थित जडीबुटी व्यवसायी संघमै थन्किएको हो ।
कारोबार नहुँदा जडिबुटी कुहिने अवस्थामा पुगेको व्यवसायी रवीन्द्रनाथ शुक्लाले बताए । आफ्नो पनि एक करोड मूल्य बराबरको उत्पादन थन्किएको उनको गुनासो छ । नेपाल जडीबुटी संघ बाँकेले गत वर्ष पाँच हजार टन जडीबुटी निर्यात गरेको थियो ।
यो वर्ष हालसम्म दुई हजार टनमात्र जडीबुटी निर्यात भएको छ । नेपालका विभिन्न जिल्लामा संकलन गरिएको ३० प्रकारको जडीबुटी बाँके ल्याउने गरिएको छ । सरकारले जडीबुटी निर्यातमा सहजीकरण नगरेको संघका अध्यक्ष टंकप्रसाद शर्माको आरोप छ ।
सरकारले जडीबुटी खेतीतर्फ ध्यान दिने हो भने लक्षित वर्गका किसानले रोजगारी पनि पाउने र जडीबुटी पनि आफ्नै देशमा उत्पादन गर्न सकिने उनको भनाइ छ । भारतीय भन्सारमा निर्यातमा समस्या, भारतको क्वारेन्टाइनमा नेपालका जडीबुटी सूचीकृत नहुनु लगायत कारणले निर्यातमा कमी आएको शर्माले बताए ।
भारतको प्लान क्वारेन्टाइनसँग समन्वय गरेर नेपालका जडीबुटी भारतको क्वारेन्टाइनमा सूचीकृत गराउन सके निर्यातमा समस्या नहुने उनको भनाइ छ । जडीबुटी व्यवसायी सकिल अहमद जसगढले सरकारले निर्यातमा समवन्य नगर्दा निर्यातमा समस्या झेल्नुपरेको बताए ।
‘धेरै समय मौज्दात राख्दा जडीबुटीको गुणस्तरमा ह्रास आउँछ, मूल्यमा घटबढ हुन्छ,’ जडीबुटी व्यवसायी जसगढले भने । बाँकेमा ११२ हेक्टर जमीनमा जडीबुटी खेती गरिएको छ । यसै वर्षदेखि यहाँ कुरिलो खेती सुरु गरिएको छ ।
नेपाल जडीबुटी व्यवसायी संघका पूर्वध्यक्ष मोहम्मद याकुव अन्सारीका अनुसार सरकारी नीति फितलो हुँदा जडीबुटी खेती फस्टाउन सकेको छैन । सरकारको प्रष्ट नीति नहँुदा अझै पनि किसानहरुले आफ्नो खेतबारीमा जडिबुटी खेती गर्न नसकेको उनले बताए ।
केन्द्रले जडीबुटी खेतीको संरक्षण र प्रवर्धन, जडीबुटीको विकास, वनस्पति संरक्षण एवं उद्यम विकास, वनस्पति अध्ययन–अनुसन्धान तथा बजारीकरण सम्बन्धी कार्ययोजना अनुसार आफ्नो भूमिकालाई अघि नबढाएको उनको आरोप छ ।
बन जंगलमा जडिबुटी मासिने क्रम बढेको र किसानहरुले जडिबुटी खेती गर्ने क्रम अझै सुरु नभएका कारण जडिबुटी संकलन र बिदेशी निकासी घट्दै गएको हो । नेपालगन्ज नाका हुँदै बर्षेनी करिब एक अर्ब रुपैयाँ बराबरको जडिबुटी भारत निकासी हुदै आए पनि पछिल्ला बर्षहरुमा निकासी घट्दै गइरहेको छ ।
सत्यपाटी । बाँके ।