सूचनाको शक्ति - The Power Of Information

        

शिशुसहित सुत्केरीको मृत्यु

उच्च रक्तस्रावका कारण जिल्ला अस्पताल डोटीमा शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको छ ।

डोटीको आदर्श गाउँपालिका–६ गिरीचौकाकी ३२ वर्षीया जानकी बोहरा खडायतको मृत्यु भएको हो । उनी पेशाले स्वास्थ्यकर्मी (अनमी) हुन् ।

मृत अवस्थाको शिशुलाई जन्म दिएको केही समयपछि उनको मृत्यु भएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।

अस्पतालका डाक्टर राजेन्द्र फुलाराका अनुसार बोहराको स्वास्थ्यमा समस्या देखिएपछि करिब ३ घण्टाको बाटोमा स्ट्रेचरमा बोकेर गाउँपालिकाको केन्द्रसम्म उनलाई पुर्याइएको थियो ।

उनको बुधबार बिहान निधन भएको फुलाराले बताए । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल ल्याइएको थियो ।

अस्पताल पुगेको १० मिनेटमा मृत शिशुलाई जन्म दिए पनि अत्याधिक रक्तश्रावका कारण डेढ घण्टापछि उनको मृत्यु भएको हो ।

मृतकका ९ वर्षीय छोरा छन् । उनी २०७० सालदेखि घर नजिकैको गिरिचौका स्वास्थ्य चौकीमा कार्यरत थिइन् ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार ०९:२०