जति–जति गठबन्धन अघि बढ्छ, एक गफाडी नेताको छाती फुल्दै आउँछ । गठबन्धनका दलहरू बढे भने उनको मुटु अझ फुट्न फुट्न खोज्छ र जथाभावी बर्बराउन थालिहाल्छन् । नेपाली राजनीतिमा हाल चलेको गठबन्धन शब्द युवा विद्यार्थीका लागि क्लिष्ट लागे पनि राजनीतिमा रुचि राख्ने सबैका लागि थेगो बन्न थालेको छ ।
घरघर, चोकचोक र चियापसलमा चर्चाको विषय बन्न थालेको छ । अनि पुरानो गठबन्धनको नियास्रोले तिनका आँखाबाट आँसु पनि आउँदो हो, कठैबरी ! उखानटुक्का लगाउँदै गठबन्धनलाई धारे हात लगाइरहने ती नेताले शेरबहादुर देउवालाई श्रीमती र सालाहरूमार्फत भ्रष्टाचार गरेको आरोप लगाउँछन् भने पुष्पकमल दाहाललाई ‘जाँड खाने छोराको शालिक बनाएको’ भनी तल्लोस्तरका भुत्ते शब्दले निन्दा गर्छन् ।
हो त, गठबन्धन परमादेशबाट नै बनेको हो । अदालतको आदेश नै हो देउवा सरकारको निर्मिती र हालसम्मको रफ्तार । एक वर्ष नाघ्यो उखाने नेता सत्ताबाट खसेको पनि । प्रतिनिधिसभा विघटन किन रे भन्दा आफ्नै दल तत्कालीन नेकपाका नेता माधवकुमार नेपाल र दाहालले दुःख दिएकाले रे । हरे, दुःख पाइस् मङ्गले, आफ्नै ढङ्गले । झगडा छ दलभित्र । रिस उठेको छ, संसद्सँग । ‘लौ त खा’ भन्दै पुस ५ पो निम्त्याइदिए सरकार प्रमुख भइखाएकाले ।
विकल्प छँदाछँदै संसद् विघटन गर्न नपाइने नजीर छँदाछँदै जेठ ८ पनि बोलाइदिए रिसाहा नेताले । तिनलाई दुई–दुई पटक नचाहिएको संसद्को बल देखाइदिए नेपाल र दाहाल र देउवाले ‘खान्न खान्न’ भन्दाभन्दै पाँचौँ पटक प्रधानमन्त्रीलाई लतारिए । आफ्नै दलका समकक्षी र आदरणीय नेताहरूलाई जथाभावी गाली गर्न सक्ने मनुवा ‘रिस खा आफू, बुद्धि खा अर्काे’ उखान आफूमाथि नै बजारिँदा खपिनसक्नु पिरले रन्थनिए ।
आफ्नै भात खाने थाल फालेर अर्काले टिपेर कपाकप खाइदिँदा झापाली मनुष्यले दिउँसै तारा देखे, हेर्दाहेर्दैको सत्ताको कुर्सी भाँचेर बार्दलीतिर पो पुगे । स्थानीय निर्वाचन २०७४ मा कांग्रेससँग अल्पगठबन्धन गरेको नेकपा (माओवादी केन्द्र) (विशेषगरी प्रचण्डपुत्री रेनु दाहालका लागि) शर्मनाक पराजयपछि जात–पानी मिल्ने नेकपा (एमाले)सँग गठबन्धन गर्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा दाहाल जुर्मुराए भने एमाले चुनावबाट सत्तारोहण गर्न माओवादी केन्द्रसँग मिल्नु नै पर्छ भन्नेमा दृढ विश्वासमा थियो ।
यसको अर्थ अघिल्लो नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धन फोरेर बन्ने एमाले–माओवादी केन्द्र वाममोर्चा नै प्रधानमन्त्री र राष्ट्रपति पाउने एक मात्र रामवाण थियो खड्धारीलाई । चुनावताका नै अब बन्ने प्रधानमन्त्री आफू भनी दाहालबाट अनुमोदन गराएरपछि पार्टी एकीकरणसम्म गर्न पुगेका अत्यन्तै आत्मकेन्द्रित नेता न पार्टीलाई अघि बढाउन सके, न सरकार नै गतिशील गराउन । जहाँ गए पनि हाँस्य कलाकारको रुपमा प्रस्तुत हुने विदूषक मञ्चको तालीबाट आफूलाई सर्वेसर्वा देख्न थाले ।
आफ्ना समकक्षी नेताहरूले राजकीय मामिलाका पदहरूमा साथीभाइलाई राखिदिन आाग्रह गर्दा ती कार्यकारी प्रमुख अँअँ भन्दै टारिदिने गर्थे । आफ्नै भातभान्छाका, गुटका वा सेरोफेराका लागि मात्र पद छुट्याउँदै अरूलाई लोभी भनी सुनाउँथे । सङ्घीय मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्री, सभामुख–उपसभामुख, राजदूत, संवैधानिक आयोगका पदहरूमा कसैलाई ढिम्किन दिँदैनथे । बरु, विपक्षी दलका देउवा, प्रधानन्यायाधीश र राष्ट्रियसभाका अध्यक्षलाई भाग दिलाउँथे ।
मानौँ, पार्टीका अरू नेता माधव, झलनाथ, वामदेव तथा दाहालका मानिसहरु चाहिँ सौताका सन्तान जस्ता । पार्टीका पदहरूमा पनि पहिल्यै आफ्ना मान्छे सुरक्षित । दुई चार पद आफ्ना समकक्षी नेताका निकटले पनि पाऊन् भन्ने सोच तिलका दाना जत्रो पनि उनमा थिएन । कसैले माग्यो कि सरकार चलाउन अप्ठेरो पार्याे भन्ने आरोप लगाइदिइहाल्ने । कम्युनिष्ट पार्टी र पार्टीले बनाइदिएको सरकार र कार्यकारी प्रमुख पद त उनको आफ्नै बिर्ता र कमाइ जस्तो, आफ्नै पसिनाको कमाइ जस्तो । परिवारवादी राजापाक्षेको सरकारभन्दा के कम थियो र उनको शासनकाल ?
तिनका बुद्धिमा के पस्यो कुन्नि ? दुईतिहाइको संसद् विघटन गरेर फेरि एकल बहुमतको सरकार बनाउने धुन एकाएक सवार भयो तर चुनाव त आउन बाँकी नै छ । अहिले विपक्षी गठबन्धनले सरकार चलाइरहेको तिनलाई सहिनसक्नु भाउन्न भएको छ । उनी जतिखेर पनि त्यसलाई सत्तोसराप गरिहाल्छन् । जनता पनि अब त बाठा भइसके । तिनको एक्लो बर्बराहट किन सुन्थे ? गएको स्थानीय चुनावमै पनि पहिलेभन्दा ८० भन्दा बढी स्थानीय तह प्रमुख–उपप्रमुख गुमाएपछि त तिनको रिसको पारो झन् बढेको छ ।
नेका, माके, एस, जसपा, राजमो त थिए नै, गठबन्धनमा बाबुराम, वामदेव, महन्थसमेत मिसिन लागेकाले तिनलाई खपिनसक्नु डाह भइरहेको छ । उनी बेलाबेलामा माकेतिर जाल फालिरहन्छन्, त्यसैले माकेका नेताहरू पनि वाममोर्चा नै उपयुक्त हो कि भन्ने भ्रममा परिरहन्छन् र मिडियामा बोलिरहन्छन् । अब त्यो द्विदलीय वाममोर्चा इतिहासको गर्तमा पुरिइसक्यो, बिलाइसक्यो भन्ने सोच गठबन्धनका वाम दलहरूमा जरासम्म बसिसक्यो र झुक्याउने वाममोर्चा पासो मात्र हो भन्ने भइसक्यो ।
एमाले भने कहिले आफैँले प्रतिगमनकारी र राजावादी भनेको राप्रपा, कहिले सिके राउत र कहिले विप्लवतिर मिल्न खोज्दै पुरानो गठबन्धनको झझल्का मेट्न लिप्त छ । गठबन्धन त गर्नु छ उसलाई पनि तर आफैँले थुकेको थुकसँग मिल्न शरमको बात छ । उखाने नेताका पिछलग्गु नेताहरू पनि बोल्नै नसक्ने अवस्थामा छन् । बोल्यो कि दश भाइ (एक बहिनी वा दिदी पनि छिन्) को सती जान लागेको आरोप लाग्छ । तिनलाई आफ्नो भाग खोस्न आएका भनिएका दश भाइलाई हराएर सधैँको किर्नाबाट जोगिने दाउ पनि खेल्नु छ । बार्दलीमा बसेर परमादेशी गठबन्धनका प्रगतिका कुरा सुनाउन आएकाहरूसँग नराम्ररी झोक्किनुपर्ने दुःखलाग्दो नियति पनि कसैले भोग्न नपरोस् ।
दृष्टि न्यूजबाट
श्याम रिमाल ।