सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा असोज पहिलो सातादेखि वडाबाटै राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन हुने

बाँकेमा आगामी असोज पहिलो सातादेखि वडाबाटै राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन हुने भएको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले मंगलबार नेपालगन्जमा आयोजना गरेको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियानसम्बन्धी अन्तरक्रिया तथा समन्वय बैठकमा उक्त कुरा बताइएको हो ।

विभागका महानिर्देशक तिर्थराज भट्टराईले एउटा वडामा दुई वटा स्टेशन राखेर विवरण संकलन गर्ने जानकारी दिए । महानिर्देशक भट्टराईका अनुसार अहिले ३८ जिल्लामा विवरण लिने काम सकिएको छ भने १२ वटा जिल्लामा चलिरहेको छ ।

विभागले चालु आर्थिक वर्षमा ७० लाख मानिसको विवरण लिने र २० लाखलाई परिचयपत्र दिने रणनीति बनाएको छ ।

१६ वर्ष पुगेका नेपाली नागरिकलाई नागरिकता बनिसकेपछि राष्ट्रिय परिचय पत्र बनाइन्छ । राष्ट्रिय परिचयपत्र बनाउँदा भरिने विवरणले गर्दा डुब्लिकेसन नहुने विश्वास गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा भएको बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, नेपाली सेना, प्रहरी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, पार्टी प्रतिनिधिहरुको उपस्थिति थियो ।

राष्ट्रिय परिचय पत्र बेगर राहदानी बनाउन नपाइने तथा कतिपय कलेजमा भर्ना हुनको लागि पनि राष्ट्रिय परिचय पत्र खोजिन थालेपछि यतिबेला बाँकेसहित देशभर सेवाग्राहीको भीड लाग्ने गरेको हो ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार ०७:५२