सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

तीन दिनसम्म देशभर भारी वर्षाको सम्भावना न्यून

कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

देशका विभिन्न भागमा आज पनि मौसममा बदली र वर्षा हुने भएको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । काठमाडौं उपत्यकामा आज हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

बिहान काठमाडौंका केही स्थानमा छिटपुट वर्षा भए पनि दिउँसो र अपराह्न भने हल्कादेखि मध्यम वर्षा हुने उनको भनाइ छ । उपत्यकामा आज दिनभर मौसम बदली हुनेछ । आज राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।

अन्य भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । प्रदेश–१ र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाको सम्भावना रहेका प्रदेशका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

नदी तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेको छैन । ‘आज, भोलि र पर्सीसम्म देशभर भारी वर्षाको समभावना देखिँदैन,’ मौसमविद् नगरकोटी भन्छिन् ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार ०७:२२