सूचनाको शक्ति - The Power Of Information

        

रसियामा हुँदै बाघ पाइने मुलुकको दोस्रो सम्मेलन

बाघ पाइने विश्वका १३ वटा देशको दोस्रो सम्मेलन दुई सातापछि रसियामा हुँदैछ । बाघ पाइने मुलुकका मन्त्री सम्मीलित बैठक रसियाको सेन्ट पिटर्सबर्गमा हुन लागेको हो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भ्लादिभोस्तोकमा भदौ २० (सेप्टेम्बर ५) का लागि सम्मेलनका लागी आह्वान गरेका छन् । सम्मेलनका लागि सबै देशका वन र वातावरण हेर्ने मन्त्रीलाई आमन्त्रण गरिएको छ ।

बाघ पाइने देशहरुमा नेपालसहित भारत, बंगलादेश, भुटान, कम्बोडिया, चीन, इण्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, रुस, थाइल्यान्ड र भियतनाम हुन् । युक्रेनको युद्धका कारण सम्मेलनमा सबै देश नआए पनि रुस जसरी पनि सम्मेलन गरिछाड्ने पक्षमा छ ।

सम्मेलनअघि भारतको नयाँ दिल्लीमा बाघ पाइने मुलुकका प्रतिनिधिको छलफल केही दिनअघि सम्पन्न भएको छ । रुसमा हुने ग्लोबल समिटमा उठाइने मुद्दा, बाघ संरक्षणका उपलब्धि, चुनौती र भावी योजनाका विषयमा छलफल गर्ने एजेण्डाका बारेमा भारतको प्रि–समिटमा छलफल भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले जानकारी दिए ।

छलफलमा चीन र इण्डोनेसिया भने तयारी बैठकमा सहभागी नभएको विभागका उपमहानिर्देशक ढकालले बताए । सन् २०१० मा सेन्ट पिटर्सबर्गमा बाघलाई दोब्बर पुर्याउने प्रतिबद्धता सहित २०२२ मा सम्मेलन गरी बाघ संरक्षणबारेमा भएको प्रयास र सफलता या असफलताका विषयमा १३ देशबीच नै छलफल र आफ्ना अनुभव सुनाउने सहमति भएको थियो ।

त्यतिवेला ग्लोबल समिटअघि भारतमै प्रि–समिट पनि भएको थियो । विश्वमा पाइनेमध्ये ८० प्रतिशत बाघ भारतमा भएको बताइन्छ । भारतको प्रि–समिटलाई नेपालका तर्फबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निवर्तमान महानिर्देशक डा रामचन्द्र कँडेल नेतृत्वको टोलीले भाग लिएका थिए ।

टोलीमा विभागका उपमहानिर्देशक ढकाल, इकोलोजिस्ट डा.गणेश पन्त, बाघ संरक्षणमा सहयोगी रहेका पार्टनर संस्थाहरू राष्ट्रिय प्रकृति संरक्षण कोष एनटिएनसीका नरेश सुवेदी, जेडएसएल नेपालका भगवानराज दाहाल र डब्लूडब्लूएफ नेपालका शिवराज भट्ट पनि सहभागी थिए । नेपालमा बाघको संख्या पछिल्लो समय ३५५ पुगेको छ । सन् २०१८ को गणनामा २३५ वटा बाघ रहेको नेपालमा चार वर्षपछि १२० बढेर ३५५ पुगेको हो ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने १३ मुलुकबीचको सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र वन तथा भूसंरक्षण मन्त्री दीपक बोहोरासहितको नेपाली टोलीले त्यो अन्तर्राष्ट्रिय समुदायमाझ सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । त्यतिवेला १२१ वटा बाघ रहेको थियो । लक्ष्य पूरा गर्ने नेपाल पहिलो राष्ट्र पनि बनेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार ०७:१४