बाँकेको गनापुरस्थित देशकै पहिलो खुला कारागार अझै सञ्चालनमा आउन सकेको छैन । सो कारागार तीन वर्षअघि नै निर्माण सम्पन्न भएको हो ।
गनापुरमा ३७ कोठे खुला कारागार भवन तयार भएको छ । कारागार सञ्चालनका लागि कार्यविधि नबन्दा सञ्चालनमा आउन नसकेको कारागारका जेलर अर्जुनजङ्ग शाहले बताए ।
दुई तिहाइ कैद भुक्तान गरेकालाई राख्न निर्माण गरिएको देशकै पहिलो खुला कारागार सञ्चालनका लागि कारागार विभागले कार्यविधि नबनाउँदा सञ्चालनमा समस्या आएको छ ।
कारागार विभागले केही समयअघि खुला कारागार सञ्चालन कार्यविधि २०७८ को मस्यौदा निर्माणका लागि सुझाव मागे पनि अझै कार्यविधि तयार भई नसकेको जनाइएको छ ।
गत वैशाखदेखि खुला कारागार सञ्चालनमा ल्याउने जानकारी आए पनि पाँच महिना बितिसक्दा पनि कुनै सुनुवाइ हुन नसकेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकरले अदालतसँग परामर्श लिएर ७५ प्रतिशत कैद भुक्तान गरेकालाई खुला कारागारमा राखिने बताए ।
खुला कारागारमा बस्ने कैदीले दिनभर अन्यत्र काम गर्न पाउनेछन् । कारागार सञ्चालन कार्यविधि मस्यौदामा उल्लेख गरिएअनुसार रात बिताउन भने कारागारमै आउनुपर्नेछ ।
खुला कारागारका कैदीले बाहिर काम गर्न जाँदा वा फर्किंदा शान्ति सुरक्षाको जिम्मेवारी कसको हुने भन्ने कुरामा स्पष्ट कानुन बन्न नसक्दा सञ्चालनमा आउन सकेको छैन ।
सो विषयमा पनि सुझाव सङ्कलन गरिएको कारागार कार्यालय बाँकेले जनाएको छ । बाँकेको जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी कोचाकोच गरेर राखिएका छन् ।
बाँकेमा २५० देखि ३०० जना कैदीबन्दी राख्ने क्षमताको जीर्ण भवनमा अहिले ७७३ जनालाई कोचाकोच गरी राखिएको छ । यो एक किसिमको सुधार गृहजस्तै हुने अपेक्षा गरिएको छ ।
यता खुला कारागारको भवन निर्माण भएको तीन वर्ष बितिसकेको छ, तर कार्यविधि नबन्दा कैदी राख्न नसकिएको प्रशासकीय अधिकृत सोनकरले जानकारी दिए ।
खुला कारागार सञ्चालन भएपछि धेरै कैदीलाई त्यहाँबाट सार्न सकिने हुँदा सम्बद्ध अधिकारी कारागार छिटो सञ्चालन गर्ने पक्षमा रहेको पनि उनको भनाई छ ।
सो विषयमा गृह मन्त्रालयअन्तर्गत कारागार विभागलाई पत्र लेखेर पठाइसकेको बाँके कारागारका प्रमुख शाहले बताए । यहाँको नौबस्तामा एक हजार ५०० कैदीबन्दीलाई राख्ने क्षमताको क्षेत्रीय कारागार भवनसमेत निर्माण भइरहेको छ ।
सो क्षेत्रीय कारागार पनि निर्माणको अन्तिम चरणमा पुगेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । जिल्ला कारागारका धेरै कैदीबन्दीलाई त्यहाँ स्थानान्तरण गरिने हुँदा कैदी कोचाकोचको समस्या समाधान हुने आशा गरिएको छ ।
सत्यपाटी । बाँके ।