नेपालगन्जमा रहेका दमकलमा काम गर्ने दक्ष जनशक्ति अभाव हुँदा अग्नि नियन्त्रणमा कठिनाइ देखिएको छ ।
आगलागीका घटना भए दमकलको पानी भर्ने स्टेशनसमेत नहुँदा आफ्नै कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको नेपालगन्ज उपमहानगरपालिका दमकल शाखा प्रमुख झोइनबहादुर खड्काले जानकारी दिए ।
‘कहिलेकाहीँ पानी भर्न स्टेशनमा आउँदा ठूलो क्षति भइसकेको अवस्था हुन्छ,’ उनले भने । नेपालगन्जमा तीन दमकल रहेका छन्, तर दक्ष जनशक्ति अभावले सास्ती भइरहेको त्यसमा संलग्न व्यक्तिले गुनासो गरेका छन् ।
एउटा दमकलका लागि कम्तीमा ६ जनाको जनशक्ति आवश्यक हुनुपर्नेमा नेपालगन्जका तीन दमकलका लागि पाँच स्थायी र सात अस्थायी कर्मचारीमात्रै रहेको प्रमुख खडकाले जानकारी दिए ।
सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले नेपालगन्जमा अग्नि नियन्त्रणको अवस्था, अग्नि नियन्त्रणमा देखिएका बाधाको विषयमा अध्ययन गरिरहेको परियोजना प्रमुख शिव सुवेदीले जानकारी दिएका छन् ।
यहाँका साँघुरा बाटा र घना बस्तीले दमकलको आवतजावतमा कठिनाइ भएको परियोजना प्रमुख सुवेदीले उल्लेख गरे । उनले दमकलको पानी भर्ने स्टेशन नहुँदा त्यसले अग्नि नियन्त्रणमा ढिलाइ हुने बताए ।
उनले यहाँका दमकलले भारतसम्म सेवा दिएकोमा प्रशंसा गर्दै अग्नि नियन्त्रणका केही असल अभ्यास भएको उल्लेख गरे । बाँकेका आठ स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा मात्रै दमकल रहेका छन् ।
आगालागीका समयमा अग्नी नियन्त्रकहरुले आगो नियन्त्रणमा लिने पुरै कोशिष गरिरहेकै बेला एकाएक दमकलमा भएको पानी सकिँदा पानी लिनका लागि दमकल करिब ५ किलोमिटर टाढा पुग्नुपर्ने हुँदा त्यतिबेला सम्म आगलागीले सबै सखाप पारिसकेको हुन्छ ।
‘दमकललाई पानी ओसार्दै ठिक्क हुन्छ । पानी भरेर आउने बेलासम्म आगोले सखाप पारिसकेको हुन्छ,’ दमकल शाखा प्रमुख खड्काले भने, ‘दमकलमा छिट्टै पानी सकिँदा सानो आगलागी नियन्त्रणमा पनि समस्या आउने गर्छ ।’
बाँकेमा आगलागी भयो भने तत्कालै निभाउन सकिने स्थिति नभएको खड्काले बताए । उनले भने, ‘नेपालगन्ज उपमहानगरपालिकासँग आफ्नै दमकल छन् । तर, पानी भर्नका लागि नजिकै पर्याप्त धारा र खोला छैनन् । पानी भर्नका लागि आफ्नै स्टेशनमा पुग्नुपर्छ ।’
नेपालगन्ज नजिकका वन, घर, उद्योग, कारखानामा आगलागी हुँदा पानी नभएर दमकलले आलोचना खेप्नु परिरहेको छ । दमकल अत्यावश्यकीय सवारीसाधन हो । दमकलको व्यवस्थापन चुस्त नहुँदा नागरिकले क्षति बढी बेहोर्नुपरेको छ ।
दमकल शाखा प्रमुख खड्काले भने, ‘दमकलमा जनशक्ति मात्रै होइन आवश्यकताअनुसार पानी स्टोरको अभाव छ ।’ उनले आगलागी नियन्त्रणका लागि कतिपय स्थानमा दमकल पुगे पनि पानी अभावले फर्किनुपर्ने अवस्था रहेको बताए ।
यसले बाँकेमा समयमै आगलागी नियन्त्रण गर्न सक्ने अवस्था नरहेको पनि खड्काको अनुभव छ । आगलागी नियन्त्रणका लागि गएका दमकल पानी अभावकै कारण फर्किनुपर्ने हुँदा जनस्तरबाट निकै आलोचना खेप्नुपरेको दमकल शाखा प्रमुख खड्काले बताए ।
सत्यपाटी । बाँके ।