आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले घोषणा गरेको अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकेको छ ।
कांग्रेसले यही भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने जनाएको छ । पार्टी नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिन पछि सारेको हो ।
प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी देशव्यापी रुपमा अभियान सञ्चालन गर्न लागेको हो । अभियान तीन चरणमा सञ्चालन हुने कांग्रेसले जनाएको छ ।
पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुने छ ।
कांग्रेसले केन्द्रीय प्रतिनिधिहरुलाई अभियान सुरु हुनुभन्दा दुई दिन अगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ ।
केन्द्रीय प्रतिनिधिहरु सम्बन्धित जिल्लामा कम्तिमा पाँच दिनसम्म कार्यक्रमहरुमा सहभागी हुनुपर्नेछ ।
सत्यपाटी । काठमाडौँ ।