सूचनाको शक्ति - The Power Of Information

        

न्यायालयमै अन्याय

निर्दोष भावनालाई फसाउन प्रहरीदेखि अदालतसम्म गज्जबको सेटिङ

नेपालको अदालतले भावनालाई थुनामा राख्ने हास्यास्पद आदेश गरी अदालतको मर्यादालाई गिराएको छ ।

विदेशमा सफल ब्यवसाय गरिरहेकी एक नेपाली चेलीलाई एक पुरुषले प्रहरीसँग मिलेर झुठो मुद्दा लगाएर जेलमा पुर्याएका छन् । महिलाले हनीट्रयापमा पारेर पुरुष फसाएका घटना त धेरै छन्, तर पुरुषले प्रहरीसँग मिलेर महिलालाई फसाएको घटना भने बिरलैै सुन्न पाइन्छ ।

जापानमा व्यवसाय गर्ने महिला भावना तामाङलाई फुर्वा तामाङले प्रहरीसँग मिलेर फसाएका छन् । फुर्वाको योजनामा प्रहरी, सरकारी वकिलदेखि अदालतसम्मले साथ दिएका छन् । नेपाली चेली भावना तामाङ सन् २००७ मा जापानमा गइन् । जापानमा रेष्टुरेन्टमा काम गर्ने सिलसिलामा उनको जापानी नागरिकसँग विवाह भयो ।

विवाह भएको २ वर्षमै ती जापानीको कालगतिले मृत्यु भयो । जापानीको मृत्युपछि रेष्टुरेन्टमा काम गर्ने नेपाली कामदार विनय लामासँग भावनाले दोस्रो विवाह गरिन् । विनय लामाले उनलाई धोका दिएर जापानी केटीतिर लागेपछि सहमतिमा सम्बन्ध बिच्छेद भयो । कुनै लेनदेन विना नै उनीहरूको सम्बन्ध बिच्छेद भएको थियो ।

घरपरिवारले भावनालाई नेपालमा आएर विवाह गर्न दबाब दिएका थिए । परिवारको दबाबपछि उनले नेपालमा आएर साजन मोक्तानसँग विवाह गरिन् । जापान जान पाउने भएकाले साजनले भावनासँग विवाह गर्न सहमति जनाए । त्यसबीचमा कोरोना महामारीका कारण जापानले विदेशीलाई लान कडाई गरेको थियो ।

साजनको पृष्ठभूमि नै नबुझी घरपरिवारले भावनासँग उनको विवाह गरेको थियो । तर, विस्तारै साजनको अर्कै प्रेमिका रहेको, उनले जापान जानका लागि मात्र भावनासँग विवाह गरेको भेद खुल्यो । त्यसपछि भावनाले साजनलाई जापान नलाने मनस्थिति बनाइन् । र, सहमतिमै साजनसँग पनि उनले छुट्टिने निर्णय गरिन् ।

तेस्रो विवाह पनि असफल भएपछि उनले भाग्य नै यस्तै रहेछ भनेर चित्त बुझाउँदै जापान गइन् । उनको जापानमा रेष्टुरेन्ट व्यवसाय छ । विवाह असफल भए पनि मेहनती स्वभावकी भावना व्यवसायमा भने सफल भइरहेकी थिइन् । तेस्रो विवाह पनि असफल भएपछि उनी पुनः बैवाहिक जीवनमा जाने सोच नै त्यागी व्यवसायमै ब्यस्त थिइन् ।

यसबीचमा सामाजिक संजालमार्फत् मलेसियामा रहेका फुर्वा तामाङसँग भावनाको परिचय हुन पुग्यो । विगतमा तीन वटा पतिसँग पीडैपीडा मात्र पाएकी भावनालाई फुर्वा तामाङले हरेक दिन बिहानदेखि बेलुकासम्म अनेकौं पटक प्रेम प्रस्ताव राख्न थाले । फुर्वाले अति नै गरेपछि महिलाको मन हो, भावना पग्लिइन् । र, नेपाल आई विवाह गरिन् ।

विवाह पश्चात् केही दिन बिताएपछि फुर्वाको अप्राकृतिक यौन क्रियाकलाप सहन गर्न नसकेपछि उनी टाढिंदै गइन् । फुर्वाको अप्राकृतिक यौन क्रियाकलापबाट आजित भएपछि भावना नेपालको बसाई नै छोट्याएर जापान फर्किन् । फुर्वाले आफूलाई पनि सँगै जापान लान दबाब दिए । तर, पछि बोलाउने आश्वासन दिएर उनी फुत्किन सफल भइन् ।

भावना जापान पुगेपछि फुर्वाले सामाजिक संजालमार्फत् हरेक दिन फोन गरेको गर्यै गरी जापान बोलाउन दबाब दिए । काममा भएको बेलासमेत फोन गरी प्रताडित गर्न थालेपछि उनले सामाजिक संजालमा फुर्वालाई ब्लक गरिन् । फुर्वासँग पछि सहमतिमै सम्बन्ध बिच्छेद गर्ने गरी नेपाल फर्किदा कल्पनै नगरेको र सोच्दै नसोचेको घटना उनले ब्यहोर्नुपर्यो ।

भक्तपुर जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई पक्राउ गर्यो । किन पक्राउ गरिएको रहेछ भनेर बुझ्दा फुर्वा तामाङले २०७९ जेठ २६ गते आफ्नो विवाहिता पत्नीले विवाहमा दिएको सुन, धनसम्पत्ति लोभ गरी ठगी गरेको जाहेरीका आधारमा । कानुनअनुसार श्रीमानको नामको सम्पत्ति श्रीमतीको र श्रीमतीको नामको श्रीमानको हुने गर्दछ ।

भावनाको बौद्धमा भएका २ वटा घर, सम्पत्तिमा आँखा गाडेर फसाउने नियतले भक्तपुर प्रहरीका एसपी शिवकुमार श्रेष्ठसँग सेटिङ गरी दर्ता नै नहुने जाहेरी दर्ता गरे । सरकारी वकिलले कानुन बमोजिम सेटिङमा दर्ता भएको मुद्दा खारेज गर्लान् भन्ने अपेक्षा भावनाका परिवारजनले गरेका थिए ।

तर, भक्तपुरका सरकारी वकिल रुद्र पन्थीले श्रीमान श्रीमतीको लेनदेन दाबी गरिएको जाहेरीमा पनि निसंकोच ठगी मुद्दा दर्ता गर्न भ्याए । जिल्ला अदालत भक्तपुरले मुद्दा दर्ता नगर्ला भन्ने आशा भावना तामाङले गरेकी थिइन् । अदालत पनि भावनालाई साधारण तारिखमा छाड्ने तयारीमा थियो ।

तर, फुर्वा तामाङले अभियन्ता भन्दै केही ब्यक्तिहरूलाई अदालत परिसरमा उतारेर नाराबाजी र होहल्ला गरेपछि न्यायाधीश माधव अधिकारीले असार १३ मा पुर्पक्षका लागि भावनालाई थुनामा पठाइदिए । जिल्लाको त्रुटि उच्चले सच्याउला भन्ने आशा गरी भावना उच्च अदालत पाटनमा न्याय माग्न गइन् ।

महिलाको पीडा महिलाले बुझ्ने र उनले न्याय पाउने अपेक्षा सबैले गरेका थिए । तर, बिषयबस्तुको अन्तर्य नै नबुझी न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यले जिल्ला अदालत भक्तपुरको आदेश सदर गरिन् । भावनाले अदालतमा दिएको बयानमा फुर्वासँग बस्न नसक्नुको मूल कारण उनको अप्राकृतिक यौन क्रियाकलाप भनेर उल्लेख गरेकी छिन् ।

तर, त्यसलाई हेर्दै नहेरी उल्टै उनलाई पुर्पक्षमा पठाइएको छ । जापानमा व्यवसाय गर्ने भावनाले थुपैलाई रोजगारी दिएकी छन् । नेपालको अदालतले श्रीमान श्रीमतीको विवादमा श्रीमतीलाई थुनामा राख्ने हास्यास्पद आदेश गरी अदालतको मर्यादालाई गिराउनुका साथै नेपालमा आउने रेमिट्यान्सलाई बाधा पुर्याएको छ ।

अदालती प्रक्रिया अनुसार भावनाले निर्दोषिताको प्रमाणपत्र पाउन घटीमा ६ महिना कुर्नुपर्ने हुन्छ । ६ महिनासम्म उनको जापानको ब्यापार ब्यवसाय समाप्त हुनेछ । भावना निर्दोष त ठहरिएलिन् तर, उनले गर्दै आएको व्यवसाय डुब्नेछ । त्यसको असर भावना, उनले जापानमा रोजगारी दिएका नेपाली र उनीहरूको परिवारमाथि त पर्ने नै छ । देशलाई प्राप्त हुने रेमिट्यान्स समेत गुम्नेछ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलवार १०:३७