सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यमा समृद्धि

पूर्वाधारले भरिँदै भेरी अस्पताल, थपिँदै अर्को ‘अत्याधुनिक भवन’

अब बन्ने अत्याधुनिक भवन ‘अन्डर ग्राउन्ड पार्किङ्ग’ र हेलिप्याडसहितको सात तले हुनेछ ।

दशकौं अघिका पुराना तथा जीर्ण भवनबाट सेवा दिँदै आएको बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा सुविधायुक्त नयाँ पूर्वाधार निर्माणका कामले तीब्रता पाएका छन् ।

भेरी अस्पतालको २४० बेड क्षमताको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । शहरी विकास तथा भवन निर्माण विभागले निर्माण गरिरहेको भवनको काम अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ ।

उनका अनुसार २०७६ जेठमा मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक ३२ करोड ३१ लाख रुपैयाँको लागतमा प्रेरा सिएबी भिमेश्वर जेभीले ठेक्का सम्झौता गरेर काम अगाडी बढाएको थियो । उक्त भवन लिफ्टसहित पाँच तले रहेको छ ।

‘भवनको कन्स्ट्रक्सन सम्बन्धी सम्पूर्ण कामहरु पुरा हुने चरणमा छन्, छिट्टै उक्त भवनबाट सेवा प्रदान गर्ने तयारी भइरहेको छ,’ भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.बद्री चापागाईंले जानकारी दिए ।

मेडिकल सुपरिन्टेन्डेन्ट डा.चापागाईंका अनुसार अस्पतालमै पुनः अर्को सुविधा सम्पन्न अत्याधुनिक भवन निर्माण हुने भएको छ । अब बन्ने अत्याधुनिक भवन ‘अन्डर ग्राउन्ड पार्किङ्ग’ र हेलिप्याडसहितको सात तले हुने डा.चापागाईंले बताए ।

भवन निर्माणका लागि एक वर्षअघि डीपीआर भई सरकारले स्वीकृत गरेर एक अर्ब २५ करोड बजेट विनियोजन गरिसकेको र यसै बर्षदेखि भौतिक पूर्वाधारको निर्माण थालिने मेडिकल सुपरिन्टेन्डेन्ट डा.चापागाईंले जानकारी दिए ।

अब बन्ने नयाँ भवन पूर्णरुपमा सरकारी मापदण्ड अनुसार निर्माण हुने पनि उनले जानकारी दिए । अस्पतालमा नयाँ तथा अत्याधुनिक पूर्वाधार निर्माणपछि अस्पतालको रुप नै बदलिने अस्पतालका तत्कालीन मेडिकल सुपरिन्टेन्डेन्ट डा.प्रकाश थापाले बताए ।

तत्कालीन मेडिकल सुपरिन्टेन्डेन्ट डा.थापाकै पालामा नयाँ भवन निर्माणका लागि एक वर्षअघि अस्पतालले एक अर्ब ९२ करोडको लागत स्टिमेटसहित अत्याधुनिक भवन निर्माणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा माग गरिएको थियो ।

‘अस्पतालको पुरानो भवन जीर्ण र साँघुरो रहेकोले नयाँ भवन निर्माणका लागि एक बर्षअघि लागत स्टिमेटसहित बजेट माग गरिएको थियो । अहिले स्वीकृत भएको छ, अब निर्माणले गति लिनेछ,’ अस्पतालका तत्कालीन मेडिकल सुपरिन्टेन्डेन्ट डा.थापाले भने ।

अस्पतालमा नयाँ भवन तथा अन्य पूर्वाधार निर्माणले यस क्षेत्रको स्वास्थ्यमा थप सुधार हुने यहाँका नागरिकको अपेक्षा छ । सरकारले भेरी अस्पताललाई विशिष्टकृत अस्पतालका रूपमा घोषणा गरेपछि अस्पतालमा पूर्वाधार निर्माणका कामले तीव्रता पाएका छन् ।

सरकारले दुई वर्षअघिनै भेरी अस्पताललाई ५०० बेडमा विस्तार गर्न अनुमति दिएको थियो । सरकारले अनुमति दिएपछि अस्पतालको स्तरवृद्धिसँगै आवश्यक पर्ने जनशक्ति र उपकरणहरु थपिँदै गए पनि पर्याप्त भने छैनन् ।

पश्चिम नेपालका झण्डै २५ जिल्लाका नागरिकको उपचार गर्न भेरी अस्पताल भरपर्दो र विशिष्टकृत अस्पताल बन्दै गएकाले सरकारले यसलाई विशेष प्राथमिकतामा राखेर आवश्यक जनशक्ति र उपकरणहरुको व्यवस्थापन गर्नेपर्ने यस क्षेत्रका नागरिक अगुवा बताउँछन् ।

हाल निर्माण सम्पन्न हुँदै गरेको २४० बेडको वार्डसहितको भवनमा इमेरजेन्सी, डायलासिस, आइसियु, सिसियु, प्रशासनिक कक्ष पनि सञ्चालन गरिने जनाइएको छ । विक्रम सम्वत् १९४७ सालमा काठमाडौंको वीर अस्पतालसँगै भेरी अस्पतालको स्थापना भएको थियो ।

पश्चिम नेपालका तीन वटा प्रदेशको रिफरल सेन्टरका रुपमा रहेको भेरी अस्पतालमा थप पूर्वाधार निर्माणसँगै अत्यावश्यक सेवा विस्तार आवश्यकता अनुसार चिकित्सक तथा अन्य जनशक्तिको व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।

भेरी अस्पताललाई मृगौला प्रत्यारोपण केन्द्रका रुपमा विकास गर्नुपर्ने आम नागरिक तहबाट आवाज छ । यसका लागि डायलासिस मेसिन थप्दै दरबन्दीका चिकित्सक र कर्मचारीको व्यवस्थापनमा अस्पताल लाग्नुुपर्ने देखिएको छ ।

अहिले अस्पतालमा दैनिकजसो मृगौलाका विरामी थपिँदै गएका छन् । चालु अवस्थामा रहेका तीन वटा मेसिनबाट अहिले दैनिक नौ जना विरामीले सेवा पाइरहेका छन् । दर्जनौं विरामी पालो कुरेर बस्न बाध्य छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलवार ०९:०७