सूचनाको शक्ति - The Power Of Information

        

कंगनाको आरोपमा फिल्मफेयरले दियो यस्तो प्रतिक्रिया

कंगना रनौत र फिल्मफेयरबीच युद्ध सुरु भएको छ । अभिनेत्री कंगनाले आफूलाई मनोनयन गर्ने फिल्मफेयर अवार्ड विरुद्ध मुद्दा हाल्ने बताएकी थिइन् ।

अभिनेत्रीको आरोपलाई झुटो भन्दै म्यागजिन ब्राण्डले कंगनालाई कुनै अवार्ड नदिइरहेको बताएको छ । यससँगै फिल्मफेयरले अवार्डमा कंगनालाई कुनै पनि नृत्य प्रस्तुति दिन नसोधेको दाबी गरेको छ ।

कंगनाले मुद्दा हाल्ने बताएपछि फिल्मफेयरले आफ्नो भनाइ सार्वजनिक गरेको छ । ‘पुरस्कारको नियमअनुसार फिल्मफेयरका सम्पादकले कंगनालाई सर्वश्रेष्ठ अभिनेत्रीको नामांकन भएको भन्दै शोको निमन्त्रणा पठाउन उनको ठेगाना सोधेका थिए ।’

यति मात्र होइन, फिल्मफेयरले आफ्नो निमन्त्रणाको प्रतिलिपि पनि सामाजिक सञ्जालमा सेयर गरेको छ, जसमा कंगनालाई अवार्ड मनोनयनका लागि बधाई दिइएको छ । यससँगै अगस्त ३० मा हुने अवार्ड शो कार्यक्रममा आउन निमन्त्रणा पनि दिइएको छ ।

अभिनेत्रीलाई उनको ठेगाना सोधिएको थियो ताकि उनलाई कार्यक्रमको लागि निमन्त्रणा पठाउन सकियोस् । फिल्मफेयरले कंगनालाई अवार्ड दिन वा कार्यक्रममा प्रस्तुति दिनको लागि कती पनि अनुरोध नगरेको बताएको छ ।

यस्तो अभिव्यक्तिलाई ध्यानमा राख्दै कंगनाको मनोनयन रद्द भएको छ । फिल्मफेयरले कंगनाको गैरजिम्मेवारपूर्ण टिप्पणी पछि, हामीले थलाइवी फिल्मको लागि उनको नामांकन फिर्ता लिएको फिल्मफेयरले बताएको छ । यति मात्र नभई , कुनै कानुनी कारबाही भयो भने त्यसका लागि पनि तयार भएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलवार ०८:३७