तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोगको प्रस्ताव दर्ता भएपछि बनेको महाअभियोग सिफारिस समितिको बैठक आज मंगलबार बस्दैछ ।
दिउँसो २ बजे बस्ने बैठकमा भदौ १ गतेको बैठकमा बितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र जबरामाथिको अध्ययन कार्यतालिका पेश गर्ने कार्यसुची रहेको छ ।
बैठकमा समितिको सभापति चयन गर्ने विषय पनि उठ्न सक्ने जनाईएको छ ।
समितिले प्रतिनिधि सभामा दर्ता भएको जबराबिरुद्धको महाअभियोग उपर अध्ययन गर्ने जिम्मेवारी श्रावण २२ मा पाएको थियो । जिम्मेवारी पाएको ९ दिनपछि समितिको पहिलो बैठक बसेको थियो ।
२०७८ को फागुन १ मा ९८ जना प्रतिनिधि सभा सांसदहरुले जबराबिरुद्ध महाअभियोग दर्ता गराएका थिए । उक्त प्रस्ताव २०७८ फागुन २९ मा प्रतिनिधि सभा बैठकमा पेश भएको थियो । प्रतिनिधि सभाले २०७९ श्रावण २२ मा जबराबिरुद्धको महाअभियोग प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।
समितिले जिम्मेवारी पाएको ३ महिनाभित्र अध्ययन सकेर सिफारिस गर्नुपर्ने प्रतिनिधि सभा नियमावलीमा उल्लेख छ ।
महाअभियोग लागेसँगै जबरा निलम्बनमा परेपछि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेका छन्।
सत्यपाटी । काठमाडौँ ।