सूचनाको शक्ति - The Power Of Information

        

चुनावमा मौन अवधि घटाउन एमालेको आग्रह

नेकपा एमालेले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा मौन अवधि घटाउन आग्रह गरेको छ । निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आचारसंहिता २०७९ सम्बन्धमा आफ्ना तर्फबाट सुझाव दिँदै एमालेले आयोगसमक्ष मौन अवधि घटाएर २४ घन्टा कायम गर्न आग्रह गरेको हो । आयोगको प्रस्तावित आचारसंहितामा मौन अवधि ४८ घण्टा छ ।

एमालेले आज साेमवार आयोगलाई निर्वाचन आचारसंहिताले चुनावकाे स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थताजस्ता पक्षमा ध्यान दिइ निर्वाचन आचारसंहितालाई लागू गर्न सकिने बनाउनुपर्ने सुझाव दिएको छ ।

निर्वाचन आचारसंहिता लागू हुने अवधि चुनाव घोषणादेखि मतदान सम्पन्न नभएसम्म गर्नुपर्ने, उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि २५ जनाभन्दा बढीको जुलुस लान नपाइने लगायतको व्यवस्था हुने भएकाले त्याे व्यवस्था हटाउनुपर्ने तथा गलत मनसायले नियतवश चुनावमा बालबालिकाको प्रयोगलाई निषेध गर्नुपर्ने पार्टीले सुझाव राखेको छ ।

एमालेले निजी क्षेत्रमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई छुट्टै आचारसंहिता लागू नगराइ आम मतदातालाई लागू हुने आचारसंहिता लागू गर्नुपर्ने, जुलुस, आमसभा, कोणसभा, बैठक, भेलाको जानकारी स्थानीय प्रशासनलाई गराउनुपर्ने व्यवस्था गर्नुपर्ने र अनुमति भन्ने हटाउनुपर्ने सुझाव दिएको छ ।

यस्तै आचारसंहितामा मुख्य प्रचारकको सङ्ख्या तोक्नु नहुने तर मुख्य प्रचारक को–को हुने भन्ने जानकारी आयोगलाई हुनुपर्ने व्यवस्था गर्ने, सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कुनै राजनीतिक दल वा उम्मेदवारको बढी र कुनै राजनीतिक दल वा उम्मेदवारको कम स्थान दिइ कार्यक्रम, समाचार, विचार प्रवाह नगरि समानुपातिक र सन्तुलित गर्नुपर्ने, जिल्ला आचारसंहिता अनुगमन समितिको संयोजकका मुख्य निर्वाचन अधिकृत राख्नुपर्ने, डिजिटल, अनलाइन, छापा, श्रव्यदृश्य सञ्चारमाध्यमको सुक्ष्म अनुगमन गर्न विशेष एकाइ गठन गर्नुपर्ने सुझाव दिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार १९:०३