सूचनाको शक्ति - The Power Of Information

        

अस्पताल विकास समिति

भेरी अस्पतालमा पूर्वाधार निर्माणका लागि एक अर्ब बढी बजेट स्वीकृत

अस्पतालको सेवामा व्यापक सुधार

भेरी अस्पताल नेपालगञ्जको नयाँ पूर्वाधार निर्माणका लागि सरकारले एक अर्ब २५ करोड बजेट स्वीकृत गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल नेतृत्वको कार्यसमिति र तत्कालिन मेसु डा.प्रकाशबहादुर थापाको अथक प्रयासकाबीच अस्पतालको भौतिक पूर्वाधार निर्माणमा सरकारले उक्त बजेट स्वीकृत सम्भव भएको हो ।

अस्पतालको पुरानो जीर्ण भवन भत्काएर अव त्यसमा सात तले सुविधा सम्पन्न भवन निर्माण गरिने अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

पश्चिम नेपालको सबैभन्दा पुरानो अस्पताल भएपनि भेरी अस्पतालको भौतिक पूर्वाधारदेखि जनशक्ति र उपकरणको सवालमा राज्यको ध्यान खासै पुग्न सकेको थिएन ।

तर धिताल नेतृत्वको विकास समिति आएपछि भने निरन्तरको दवावकाबीच अस्पतालको भौतिक पूर्वाधारदेखि उपकरणको सवालमा राज्यले ढिलै भएपनि सम्वोधनको प्रयास शुरु गरेको भन्दै श्रेष्ठले खुशी व्यक्त गरे ।

सात तले सुविधा सम्पन्न भवनको यसअघि नै डिपिआर तयार भइसकेको छ । अन्डरग्राउण्ड पार्किङ र हेलिप्याडसहितको उक्त भवनपछि अस्पतालको स्वरुप पुरै बदलिने अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।

यसअघि अस्पताल परिसरमा चार तले अर्को भवन निर्माण अन्तिम चरणमा पुगिसकेको छ । भौतिक संरचनासँगै पछिल्लो समय अस्पतालको सेवामा व्यापक सुधार हुँदै गएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार १८:३१