‘बाबुले ओम छान्ति (ओमशान्ति) भन्छ ! लाधेश्याम (राधेश्याम) भन्छ ! शाहीनाम (शाहीराम) भन्छ ! जयमशी भन्छ ! लु भन भन…! कति ज्ञानी बाबु त…! यस्तो ज्ञानी अरु त कहाँ छन् र…!’ अनि ‘आमा ओम शान्ति ! हजुरबा जयगुरुदेव ! हजुरआमा राधेश्याम ! अङ्कल÷आन्टी जयमशी !’ जस्ता शब्दहरू आजकाल समाजमा नवोदित ढङ्गबाट प्रचलित भइरहेका छन् । यी शब्दहरूले हाम्रा परम्परागत आदर वा सम्मान सूचक शब्दहरू जस्तो कि नमस्कार, नमस्ते, ढोग, प्रणाम आदिको प्रयोगलाई विस्थापित गरिरहेका छन् ।
आफू हुर्कंदाका क्रममा सिकेर प्रयोग गरिल्याइएका यी आदर वा सम्मान सूचक शब्दहरू किन निलम्बित वा खारेज भएर अहिले हाम्रो समाजमा अरू नै नयाँ शब्दहरूको अनुसरण र बोलबाला भइरहेको छ ? यस्ता शब्दावलीको प्रयोग गर्ने सम्प्रदायका मानिसहरू किन बेग्लै पहिरन, खानपान र संस्कारतर्फ छुट्टिएर गएका होलान् ? यी प्रश्नहरू हाल गम्भीर बनेर उठिरहेछन् । नेपाल प्राविधिक रूपमा कम्प्युटर र इन्टरनेट, आर्थिकरूपमा परम्परागत कृषिका साथै परनिर्भर व्यापार र उद्योगको युग अर्थात् पुँजीवादी युग अनि राजनीतिकरूपमा लोकतान्त्रिक संघीय गणतन्त्रको चरणमा प्रवेश गर्नु केही अघिबाट व्यापकरूपमा देखापरेका हुन् माथि उल्लेखित नवीन शब्दहरू ।
यी शब्दहरू राम्रोसँग बोली नफुटेको शिशुदेखि वयस्क र वृद्धसम्मले प्रयोग गरिरहेका छन् । कुनै पनि शब्द आफैँमा एक संस्कृतिको बाहक हुने गर्दछ । यी शब्दहरू निश्चित धार्मिक सम्प्रदायको सन्देशवाहक प्रतिनिधि हुन् । विगत केही शताब्दी यता निर्माण भएर तुलनात्मकरूपमा स्थिर रहेको नेपालको सनातनी समाज अहिले द्विविधा र विभाजित मानसिकतामा छ । आफूलाई ईश्वरको सच्चा अनुयायी दावा गर्ने अनेक सम्प्रदायको रणनीतिक र आक्रामक प्रचारका अघि आफ्नो स्वतन्त्र तर्क स्थापित गरी आफ्नो प्रतिरक्षा गर्न नसकेर निरीह बनेका हाम्रा सनातनीहरू केही दिनभित्रैमा बेग्लै अभिवादन र पहिरनमा सजिएर नयाँ देवालयमा पसिसकेका हुन्छन् ।
अहिले आएर सनातनी नेपाली समाजमा एकातिर नयाँ धार्मिक सम्प्रदायहरूको उदय र प्रवेश भइरहेको छ भने अर्कोतिर पुराना सम्प्रदायहरूको पनि नयाँ स्वरूपमा पुनरुत्थान (रिभाइटलाइजेसन) भइरहेको छ । परम्परागतरूपमा नेपाल र यसका आसपासका क्षेत्रहरूमा प्रकृतिपूजा र पितृपूजा सर्वात्मवादी धर्मसंस्कृतिहरूबाट क्रमशः, बोन, किराँत, शाक्त, बौद्ध, गाँडपत्य, सौर्य, शैव, वैष्णव र ब्रह्म जस्ता धार्मिक सम्प्रदायहरू रहेका थिए । सर्वात्मवादी (एनिमष्ट) प्रकृति मिल्ने धर्मका प्रकट रूपका केही लक्षणहरू अहिलेसम्म पनि प्रत्येक सम्प्रदायमा पाइए तापनि किराँत, थारू, हिमाली भेकका बोनहरू र मध्यपहाडी क्षेत्रका मस्टोपूजक खसहरूमा रहेको परम्परागत स्वरुप पनि यहाँ पाइन्छ ।
नेपाल एक राष्ट्रिय राज्यसम्म आइपुग्दा सभ्यताको प्रसारण (डिफ्यूजन)को प्रक्रियासँगै माथि उल्लेखित सम्प्रदायहरू सनातन धर्मका रूपमा स्थापित भएका थिए भने पछि आएर सनातन हिन्दु धर्मका रूपमा पनि हेर्न थालिए । दक्षिण एसिया वा नेपाल भूखण्डभित्र उत्पत्ति भएका धार्मिक सम्प्रदायहरूभित्र एकखालले आफूलाई ॐकार परिवारभित्र पर्ने सम्प्रदायका रूपमा चित्रण गर्दछन् भने अरुले आफ्नो पृथक पहिचान दिन चाहन्छन् । यहाँको सभ्यताको मौलिक हिस्सा भएर पनि पृथक पहिचानको रूपमा प्रस्तुत गर्ने सम्प्रदायहरूमा कविर, सिख, जैन, बौद्ध, किराँत तथा बोनजस्ता सम्प्रदायहरू पनि रहेका छन् ।
दक्षिण एसियाबाहिर उत्पत्ति भएका तर विगत केही शताब्दीदेखि निश्चित जनसङ्ख्यामा मतावलम्बी रहेका सम्प्रदायहरूमा इस्लाम, इसाई, ताओ तथा बहाई जस्ता धार्मिक सम्प्रदायहरू पनि रहेका छन् । यी सम्प्रदायभित्र विकसित भई नवोदित उपसम्प्रदायका रूपमा पनि कतिपय नवीन सम्प्रदायहरू देखापरिरहेका छन् भने आफूलाई वैदिक सनातन हिन्दु धर्मका अनुयायी मान्ने तर नयाँ सम्प्रदायका रूपमा स्थापित यस्ता सम्प्रदायहरूको पनि निकै ठूलो सङ्ख्या रहेको छ ।
नेपालमा वैदिक सनातन धार्मिक सम्प्रदाय अन्तर्गत शैव र वैष्णव सबै भन्दा ठूला सम्प्रदायका रूपमा फैलिएका छन् । शैव सम्प्रदायको प्रभावक्षेत्र उत्तरी बोन संस्कृतिको पाटोभन्दा तल नेपालको मध्य पहाडी भूभागदेखि भारतीय उपमहाद्वीपको विभिन्न भागसम्म रहेको देखिन्छ भने वैष्णव चाँहि सागरको तटीय क्षेत्रबाट फैलिएको देखिन्छ । यसलाई लाक्षणिक रूपमा भन्नुपर्दा शिव हिमालयमा तपस्या गर्छन् तर नारायण जो विष्णुको एक अवतार नै हुन् जलमा शयन गर्दछन् ।
यिनै धार्मिक सम्प्रदायको प्रभाव स्वरूप नेपालमा शैव पाञ्चायन र विष्णु पाञ्चायनको पूजा गरिन्छ । शैव धर्मका प्रवर्तक शिव, शङ्कर, भोलेबाबा, महादेवका साथै रुद्र अनि अझ एकादश रुद्र (एघार रुद्र) भनिएको, र यसका पाशुपत, गोरखनाथ, काश्मीरी र दक्षिण भारततिरको वीरशैव र कापालिक सम्प्रदाय सहितका शैव मत पाइनुले पहिले विभिन्न स्वतन्त्र उपसम्प्रदायहरूको एकीकरण भई शैव सम्प्रदाय बनेको देखिन्छ । लाक्षणिक रूपमा भन्नुपर्दा शिव हिमालयमा तपस्या गर्छन् तर नारायण जो विष्णुको एक अवतार नै हुन् जलमा शयन गर्दछन् ।
यिनै धार्मिक सम्प्रदायको प्रभाव स्वरूप नेपालमा शैव पाञ्चायन र विष्णु पाञ्चायनको पूजा गरिन्छ । यस्तै वैष्णव सम्प्रदायतर्फ विचार गर्दा वेदमा उल्लिखित भगवान विष्णु, वासुदेव कृष्ण, गोपाल कृष्ण, नारायण, राम, कृष्ण, हरि, जगन्नाथ र कल्की जस्ता नामहरू हुनाले यो सम्प्रदायको विकास पनि विभिन्न तत्कालीन मिल्दाजुल्दा मतहरूबाट भएको देखिन्छ । उत्तर भारत र नेपालमा वैष्णव अन्तर्गत निम्बार्क (राधेकृष्ण), कृष्णप्रणामी, श्रीवैष्णव, इस्कोन (राम कृष्ण मिसन)का साथै गौडीय वैष्णव लगायतका सम्प्रदाय हेर्दा रामानुजाचार्य देखिकै आचार्यहरूले विभिन्न कालखण्डमा यी फरक सम्प्रदायहरूको स्थापना र विकास गरेको पाइन्छ ।
नेपाल उत्पत्तिका बोन, किराँत, बौद्ध, मष्टो लगायतका धार्मिक सम्प्रदायहरूलाई छोडेर भन्नु पर्दा विगत केही दशकयता मात्र दक्षिणबाट प्रवेशगरी आफूलाई पनि वैदिक सनातन धर्मको अनुयायी भनेर स्थापित गराइएका थुप्रै उप र सह–सम्प्रदायहरू नेपालमा प्रवेश गरेका छन् । हिन्दु बाहुल्य रहेको नेपालमा मूलतः शैव र वैष्णव जस्ता सम्प्रदाय प्रमुख रहे तापनि यसअन्तर्गत स्थापित भई विभिन्न स्वरूपमा देखापरिरहेका थुप्रै उपसम्प्रदाय, मत, संस्कार, अभ्यास, तीर्थ, व्रत तथा अनुष्ठानहरू छन् ।
वैष्णवका नै पनि निम्बार्क (राधेकृष्ण), कृष्णप्रणामी, श्रीवैष्णव, इस्कोन (राम कृष्ण मिसन) का साथै गौडीय र जयगुरु (कल्की विष्णु)का साथै अन्य सम्प्रदायहरूमा ओमशान्ति, सत्सङ्ग, सत्यसाही, यन्त्रतन्त्रमन्त्र आदि सम्प्रदाय मत वा अभ्यास रहेका छन् । पहिले झारखण्डबाट सुरुभएको बोलबम नेपालको मध्यपहाडी भेकतिर प्रवेश गरिरहेको छ । केही वर्ष अघिसम्मको सन्तोषी माताको पूजा र व्रत निकै बाक्लो थियो त्यो अहिले कम भएको प्रतीत हुन्छ । यस लेखको परिवारका अघिल्लो पुस्ताका पुरुष सदस्यले शैव पाञ्चायनको पूजा गरी तेर्सो चन्दन टीका लगाउने चलन भएकोमा अहिले आएर उर्ध्वपुण्ड अर्थात् ठाडो टीका लगाउने चलन चल्नु शैवको स्थान वैष्णवले लिँदै गएको नै हो ।
नेपाली समाज, यसको धार्मिक आस्था विश्वास र संस्कृतिमा आएको परिवर्तन फेरि पनि प्रविधिसँग गाँसिएको छ । ‘नदी अग्लोबाट होचो भूभागतर्फ बग्छ तर सभ्यता भने सागर वा नदी किनारको समथर मैदानी भूभागबाट अग्लो भूभागतर्फ’ भनिए झैँ हाल दक्षिणको समथर ठाउँबाट तुलनात्मकरूपमा उन्नत प्रविधि बोकेर संस्कृति भित्रका धार्मिक सम्प्रदायहरू नेपालको भूभागतर्फ चढिरहेका छन् । हिन्दु अन्तर्गतका अधिकांश धार्मिक सम्प्रदायहरूको प्रधान कार्यालय वा प्रचार कार्यालयहरू भरतका विभिन्न स्थानहरूमा रहेका छन् र उनीहरूले नेपालमा शाखा कार्यालयहरू खोलेर आफ्ना प्रचारक र अनुयायीहरू बढाइरहेका छन् ।
पहिले देखिनै गङ्गा र जमुनाको उर्वर मैदानको अर्थतन्त्रले निर्माण गरेको संस्कृति यता उक्लिएको हो भने हालैका वर्षहरूमा सुधार भएको भारतीय अर्थतन्त्रले थुप्रै धार्मिक सम्प्रदायको पुनरुत्थान र प्रसारणका लागि एक ऊर्जाको काम गरेको छ । अर्कोतर्फ सनातन बौद्धलाई नयाँ स्वरूपमा चीन, जापानसहित दक्षिणपूर्वका राष्ट्रहरूको आर्थिक उन्नयनले बौराएको छ भने त्यसैगरी पुरानो इस्लामलाई खाडीको पेट्रो डलरले पन्पिएको छ । उता ‘धनी भक्तहरूले पुजिएका ईश्वर’ महेश्वर हुने भएको हुँदा इशु प्लेनमा उडेर आक्रामक रूपमा हिमालय तल आइरहेका छन् ।
हिमालका बोन स्तूपहरू जीर्ण बनेर लडेकै ठाउँमा नयाँ ईशुआलयहरू निर्मित छन् । पूर्वका ताओ र पश्चिमका बहाइ पनि नयाँ प्रविधि र सलबल अर्थतन्त्रको एयरक्राफ्ट चढेर हिमालय तल आइपुगेका छन । प्रकृति र पितृ पूजाको पृष्ठभूमिबाट उठेको नेपाली समाज चौरासी व्यन्जन भोजमा पहिलोपटक पुगेको कुनै गाउँले युवा अलमल्ल परेझैँ हाल धर्मको बजारमा आएका कैयौं आकर्षक विविधता (भेराइटी) का सम्प्रदायहरूबाट कुन चाहिँ चयन गर्ने होला भनेर अन्यमनस्कतामा परेको छ। कोहीले नयाँ दीक्षा लिएमा दीक्षा लिनेले नलिनेलाई अनि नलिनेले लिनेलाई खिसिट्युरी गर्नाले पनि यहाँ द्वन्द्व बढेको छ ।
नयाँ सम्प्रदायको प्रवेश भनेको सनातनी जीवन पद्धतिमाथिको वितृष्णा हो । अर्थात् सनातनी पद्धति त्रुटिपूर्ण छ, कमजोर छ वा त्याज्य छ भन्ने मनोभावको निर्माणले नै नयाँ सम्प्रदायमा दीक्षित हुनेहरूको तर्क छ । उनीहरूका लागि इहलौकिक तथा पारलौकिक मुक्ति, स्वर्ग, गोलोक, बैकुण्ठ, ह्यावेन वा यस्तै मृत्युपछिको आत्माको गतिको गन्तव्यको चाँजोपाँजो हो नयाँ सम्प्रदायको ग्रहण । यो प्रक्रियामा हाल के देखिएको छ भने कुनै परिवारका सम्पूर्ण सदस्यहरू दीक्षित भएमा उक्त परिवारको भान्छा नफुटेको तर कुनै सदस्य मात्र दीक्षित भएको परिवारमा त भान्छा फुटिसकेको पनि छ ।
लसुन, प्याज, अण्डा र मांस वा मासंजन्य चिज तामसी भोजन भएको हुँदा अभक्ष्य भए । त्यसैगरी गहत, कोदो, मुसुरीको दाल, चना, तितेफापर लगायतका जातिच्युत गरिएका अन्न र तरकारीहरू अभक्ष्य दरिएका हुने हुँदा त्याज्य छन् । दीक्षा लिनुभन्दा अघिल्लो दिनसम्म खाद्य र भक्ष्य भएका चिजहरू दीक्षा लिएपछि एकाएक अभक्ष्यमा दरिन पुग्छन् । त्यतिमात्र होइन दिन, बार वा तिथि अनुसारको भक्ष्य र अभक्ष्यको सूची अझ लामो छ । कतिपयमा अवस्थामा भक्ष्यभन्दा पनि अभक्ष्य खाद्यको सूची लामो हुन्छ ।
नखानु भनिएको चिजको स्वतन्त्र प्रयोगशाला परीक्षण प्रतिवेदन (ल्यावटेष्ट रिपोर्ट) लिएकै हुँदैन तथापि त्यसलाई अभक्ष्य बनाइएको हुन्छ । यसले हाम्रो पर्यावरणीय अवस्थाअनुसारको पोषणको श्रोत हटाइ शरीर र अर्थतन्त्र दुवैमा दीर्घकालीन असर पुर्याउने सम्भावना पनि त्यत्तिकै छ। अर्कोतर्फ परम्परादेखि मानेर खाई ल्याएका खाद्यले चाडपर्वका बेला दिने खुसियाली माथि यसको प्रहार हुने देखिन्छ। यसले कुपोषण गराइ एउटा जातिलाई नै कमजोर बनाउने मात्र हैन भविष्यमा त्यो जातिको वंशलोप हुने खतरासमेत पैदा गर्न सक्छ ।
एउटा व्यक्तिलाई के कस्तो पोषण तत्त्वको जरुरी छ भनेर आजकाल पोषण विज्ञ डक्टरको सुझाव लिने समेत गरिएको हुन्छ तर हाम्रा आचार्य गुरुहरू आफैँ ब्रह्मज्ञानी हुने हुँदा तिनलाई प्रयोगशालाको प्रतिवेदन को के अर्थ ? फलतः एउटै परिवारका सदस्यहरूका लागि फरक खालको खाना बनाउनुपर्ने भयो। छुवाछुतको त कुरा नगरौँ, लाग्छ धर्म भनेकै छुवाछुतको पर्याय हो । यसरी एउटै खाना नखाएपछि, एउटै भान्छामा नभएपछि, परिवारका सदस्य बीच दूरी बढ्ने नै भयो । अझ दीक्षित हुने सदस्यको नाम र पहिचान बदलिएको हुन्छ। कुनै सम्प्रदाय विशेषका रामप्रसाद गौडेल अब रामप्रसाद दाश भएका हुन्छन् ।
लीलाकुमारी गोसाइँ अब लिलाकुमारी दाश भएकी हुन्छिन् । लुगाको प्रकार र रङ्ग बदलिएको हुन्छ। यदि श्रीमान्ले दीक्षा लियो र श्रीमतीले लिइनन् वा श्रीमतीले लिएर श्रीमान्ले लिएनन् भने त्यहाँ परिवार टुक्रन्छ, श्रीमान् र श्रीमतीको फरक फरक सम्प्रदाय परेमा एउटा छोडेर फेरि अर्को दीक्षा लिएका घटना छन् । यसले आम रूपमा भावनात्मक धार छुट्टिएर र परिवार भित्र दुई किनारा देखापर्ने छन् । अघिल्लो पिँढीको कट्टरता र पछिल्लो पिँढीको स्वच्छन्द परिवेशले गर्दा परिवार भित्र गहिरो द्वन्द्व देखापर्दैछ ।
नयाँ सम्प्रदायको प्रवेश र होडबाजीले परिवारबाटै सुरु भएको विग्रह समाज, र कुटुम्बहरू माझसम्म फैलँदो छ । नयाँ सम्प्रदायमा दीक्षा लिएका व्यक्ति र परिवारमाथि अन्य सनातनी परिवारहरूबाट हुने टिप्पणीहरूमा केही हुन् ‘आफूलाई खुब संस्कारी भनिठान्ने ! हामीले खाने खानेकुरा नखाने ! छुवाछुत गर्ने ! हेर्दा पनि नसुहाउने गरिको गिद्धले छेरे जस्तो टिको लाउने ! नमस्कार र नमस्ते जस्ता आदरसूचक शब्दका ठाउँमा अर्कै भन्नुपर्ने ! अमुक मन्दिर मात्र जाने वा मन्दिरमा नपस्ने ! धर्मकर्म नगर्ने जे खाए पनि हुने पो धर्म अरे !
त्यसले त पिता पुर्खाले मानिआएको धर्म संस्कार छोडेर त्यही बाबाका पछि लाग्यो !’ आदि इत्यादि । त्यसको जवाफमा सनातनी र विज्ञानको दृष्टिकोणबाट हेर्नेहरू माथि ‘भक्ष्यअभक्ष्य खाएको छ ! निधार खाली राखेर हिँडेको छ ! न्याँस ध्यान, पूजापाठ, तीर्थ व्रत छैन ! ईश्वरमाथि विश्वास छैन ! धर्म गर्नेमाथि निन्दा गरेको छ ! समाज यसैले बिग्रिएको हो ! अधर्मी, नास्तिक र अविश्वासीहरू बढेपछि यो सृष्टिको अन्त्य हुन्छ !’ यसरी भजन र कीर्तनका नयाँ तौर तरिका सुरु भएका हुन्छन् ।
अर्को संस्कारका अनुयायीहरू पराई हुने नै भए अनि समाज समूह समूहमा विभक्त हुन्छ । उदाहरणका रूपमा एउटै कृष्णलाई प्रमुख ईश्वर मान्नेहरू एउटा मन्दिरमा पस्छ अर्को भने त्यतैतिर फर्केर पनि हेर्दैन । किनभने एउटा प्रणामवाला हो अर्को राधेश्याम वाला, एउटा गोलोक जान हिँडेको छ, अर्को बैकुण्ठ । बिहेबारीमा सम्प्रदायको मिलान नभएमा नयाँ आउने बुहारीले चाहना नभए तापनि बाध्यतावश दीक्षा लिनैपर्ने भयो । भोजभतेरमा सम्प्रदायका अनुयायी र अरु बीच भिन्न व्यवहार हुने नै भयो । यसरी हाम्रो परम्परागत सनातनी समाज विग्रहको सिकार भइरहेको छ ।
नेपालमा भित्रिएका नयाँ सम्प्रदायका मूल आचार्य र महन्तहरू बाहिरका छन् । उनीहरूका मूल चेला र उत्तराधिकारीहरू समेत बाहिरकै छन् तर जजमान र अनुयायीहरू नेपालमा फैलिँदो सङ्ख्यामा छन् । आफ्ना महाराज, गुरुदेव, बाबा, फादर, वा यस्तै अमुक पद भएका सम्प्रदाय प्रचारकलाई दीक्षा ग्रहण गरिँदाको बखत, र आवधिक रूपमा गुरु दक्षिणा, मन्दिर, धर्मशाला निर्माणका लागि, भोज र पङ्गद लगाउनका लागि, भक्तहरूबाट दक्षिणाको ठूलो थैलो बाहिरिँदो छ ।
गुरु आचार्यहरूको ऐय्यासी जीवन र आर्थिक हिनामिना माथिको छानबिन कसले गर्ने ? यो त ईश्वरका नाममा र मृत्यु पश्चात् पुग्ने स्वर्ग पर्यायका अमुक गन्तव्यका नाममा हुने हो ! धार्मिक सम्प्रदायहरूका लागि नेपालबाट बाहिर जाने र बाहिरबाट भित्रने पैसाको अनुपात कति होला ? यो एक अनुसन्धेय विषय छ, तर पनि केही तथ्यहरूमा टेकेर अनुमान गर्दा भित्रने २५ र कम्तिमा पनि बाहिरिने ७५ प्रतिशत हुन आउला ।
अर्कोतर्फ हेर्दा नेपालमा प्रवर्द्धित धार्मिक सम्प्रदायको दार्शनिक धार कर्म र ज्ञानभन्दा पनि भक्तिमार्गतर्फ प्रवृत्त भएको हुँदा यसले मानिसलाई निरास, उदास र कर्मयोगबाट पलायनतर्फ उत्प्रेरित गर्दछ । जसका कारण समाजको अर्थतन्त्र कमजोर बन्ने र कमजोर अर्थतन्त्र रहेको राष्ट्र र समाज अरुको दास हुनका निम्ति योग्य हुन्छ । उदाहरणका लागि छिमेकी भारतमा विज्ञान र अनि तोपको जवाफ दिने हिमर क्षेप्यास्त्र थियो भने किन पोर्चुगाली र बेलायतीहरूको उपनिवेश हुनु पर्दथ्यो ! देश उपनिवेश हुँदा ब्रह्मा, विष्णु र महेश्वरका मन्दिरहरू लुटिए र महादेवहरू समेत पराधीन हुनु भए । छिमेकको दृष्टान्तबाट नेपाली समाजले पनि सिक्नु पर्छ ।
आजका दिनसम्म आइपुगेको विश्व मानव समाज आधारभूत रूपमा खुला र विविधता युक्त समाज हो। यो समाजमा आर्यभट्टदेखि लिएर आइन्स्टाइनसम्मका वैज्ञानिकहरू, व्यास, बुद्ध, प्लेटो र कन्फ्यूसियस सम्मका दार्शनिकहरू जन्मिएका छन् । ‘ब्रह्म सत्य र जगत मिथ्या’ देख्ने शङ्कराचार्यदेखि लिएर द्वन्द्वात्मक भौतिकवादका व्यवस्थित व्याख्याता कार्लमार्क्ससम्मका दार्शनिकहरू मात्र हैन सूर्यले पृथ्वीको परिक्रमा नगरेर पृथ्वीले चाहिँ सूर्यको परिक्रमा गर्छ भन्ने सत्य प्रवर्द्धनका लागि हाँसीहाँसी विष पिउने वैज्ञानिक ब्रुनोसम्म यही समाजका हुन् ।
नेपाली समाज विविधता युक्त समष्टिगत विश्व समाजको एक व्यष्टि रूप भएको हुँदा यहाँ पनि विविधताको प्रतिविम्ब छ । वर्तमानको खुला समाजमा प्रत्येक नेपालीलाई आफूले इच्छाएको आस्था चयन गर्ने अधिकार छ । आस्था राजनीतिक, सांस्कृतिक र धार्मिक विभिन्न हुन सक्छन् । सन्दर्भ यहाँ धार्मिक सांस्कृतिक आस्थाको हो । मानिस आध्यात्मिक दृष्टिकोणबाट चलोस् या भौतिक दृष्टिकोणबाट उ सामाजिक प्राणी भएको हुँदा आचारविहीन हुने छुट कसैलाई छैन ।
यथार्थमै भन्नुपर्दा ‘आचारो प्रथमो धर्म’ अर्थात् आचार नै प्रथम धर्म हो भनिन्छ । आचार र कानूनविहीनताको स्थितिले अराजकता र समाजिक विखण्डन निम्त्याउँछ । तसर्थ हरेक व्यक्तिका लागि आचारहरू अनिवार्य हुन्छन् । यस्ता आचारहरू जीवन पद्धतिका रूपमा, संस्कार र संस्कृतिका रूपमा, धर्मका रूपमा र कानूनका रूपमा पनि आएका हुन्छन् । कुनै व्यक्तिले निश्चित कुनै आचार मानेको अवस्थामा उसले सम्पूर्ण रूपमा कुनै अमुक संस्कार, संस्कृति र धर्मसम्प्रदाय नै नमानेको पनि हुन सक्दछ ।
यहाँ व्यक्तिलाई आचार भिन्न स्वरूपको चयनको स्वतन्त्रता पनि छ । मानिसले आचार ग्रहण गरेको छ भने उसले आध्यात्मिक वा भौतिक जुन दृष्टिकोण राखे तापनि उ समाजको एक सदस्यका रूपमा जिउन स्वतन्त्र छ । उसले ईश्वरलाई ‘पुज्न’ र केवल ‘बुझ्न’ मात्र पनि पाउँछ । यो उसको स्वतन्त्रता हो । एउटा फूलको बीजलाई संरक्षणका नाममा माटोमा पुरेर ढुङ्गाले थिचिदियो वा स्वतन्त्रताका नाममा माटोमाथि हावाले उडाउने वा चराले खानेगरी छोडिदियो भने बीजाङ्कुरण र पुष्पाङ्कुरण कसरी हुन सक्ला ?
त्यसलाई फुल्नका निम्ति नियन्त्रण होइन संरक्षणका लागि अनि स्वछन्दता होइन स्वतन्त्रताका लागि खुकुलोपना (आकाश) भएको माटोको हल्का पत्रले ढाकिनु पर्दछ। मानव व्यक्तित्वको उदयका निम्ति पनि त्यही कुरा लागु हुन्छ । हामीलाई नत नियन्त्रण स्वीकार्यछ नत स्वच्छन्दता । हरेक युवाले स्वतन्त्रता प्राप्तिपछि नै आफ्नो व्यक्तित्वलाई प्रष्फुटित गर्न सक्छ । वास्तविक ईश्वर (परब्रह्म) त जहिले पनि समालोचक चेत भई आकृतिमा होइन मानवताको अन्तरवस्तुमा हेर्ने कर्मप्रवृत्त भक्तहरू प्रति कृतज्ञ हुन्छन् ।
किंकर्तव्यविमूढ भई संवेगात्मक रूपमा असन्तुलित भक्तहरू स्वयम् ईश्वरका निम्ति पनि ठाउँको दुखाइको विषय भएका हुन सक्दछन् । तसर्थ राष्ट्रिय चरित्र बोकेको हाम्रो सनातनी नेपाली समाज, यहाँको जीवन पद्धति र संस्कृतिमा स्थापित आचारको जगेर्ना र समय परिवेश उपयोगी बाह्य ज्ञान र अनुभव लिन खुला हुनुपर्दछ । व्यक्तित्वको स्वतन्त्र प्रस्फुटनको सम्भावनालाई इन्कार गर्ने ‘नियन्त्रणकारी दीक्षाहरू’बाट भने सचेत बन्नु पर्ने देखिन्छ । नियन्त्रण र स्वच्छन्दता होइन जयतु स्वतन्त्रता ! (लेखक रघुनाथ अधिकारी ‘निलमशेखर’ समाजशास्त्र तथा मानवशास्त्र विषयका अध्येता र भाषा विज्ञान विषयका अनुसन्धाता हुन् ।)
आइएनएस–स्वतन्त्र समाचार
Design : Aarush Creation
रघुनाथ अधिकारी ‘निलमशेखर’ ।