सूचनाको शक्ति - The Power Of Information

        

काठमाण्डौमा थुप्रिएकाे फाेहर भोलिसम्ममा उठाइसक्ने

काठमाण्डौ महानगरपालिकाले काठमाण्डौ उपत्यकाका सडकको छेउछाउमा थुपारेर राखिएकाे फाेहर धमाधम उठाउन थालेको छ ।

बञ्चरेडाँडामा फाेहर विसर्जन गर्न कुनै अवरोध नभए पछि थुप्रिएका फाेहर धमाधाम उठाउन थालिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपत्यकाका सडकमा थुप्रिएका फाेहर उठाउन महानगरले नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ शाखासँग सहकार्य गरेको छ ।

अहिले काठमाण्डौको कमलादीमा क्षेत्रका सडकमा थुपारेर राखेका फाेहर हटाइँदैछ । यस्तै, आजै कमलपोखरी क्षेत्रका फाेहर पनि सङ्कलन गरिनेछ ।

भोलि छुटेका ठाउँहरुको अनुगमन गरी फाेहर उठाइने उहाँले बताउनुभयो । महानगरपालिकाले अहिले कुहिने र नकुहिने फाेहरलाई सडकबाट नछुट्याइ उठाएको छ ।

सडकका फाेहर उठिसके पछि भने कुहिने र नकुहिने फाेहरको वर्गीकरणलाई प्राथमिकता दिइने छ । अहिले घर घरमा फाेहर लिन महानगरपालिकाका गाडी जान थालिसकेका छन् ।

अहिले दैनिक झन्डै दुई सय वटा फाेहर बोकेका गाडी बञ्चरेडाँडा जाने गरेका छन् । गएको शुक्रवारदेखि काठमाण्डौबाट नियमित रुपमा फाेहर बोकेका गाडी बञ्चरेडाँडा गइरहेका छन् ।

दुई महिनादेखि थुप्रिएको फाेहरका कारण उपत्यकामा दुर्गन्ध फैलिएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार ०८:४३