पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि प्रहरी प्रशासनले अनुसन्धान सुरू गरेको छ ।
गत शनिबार आयोजित आमसभाबाट न्यायालय र प्रहरीविद्ध धम्किपूर्ण भाषण गरेको आरोपमा खानमाथि अनुसन्धान थालिएको हो ।
छानविनको खबरसँगै खानका समर्थकहरू उहाँको घर अगाडि भेला भएर पक्राउ गरिए सत्ता पलट गरिदिने चेतावनी दिएका छन् ।
गत चैतमा संसदमा बहुमत गुमाएर हटेलगत्तै उहाँले सेना र सरकारको कडा आलोचना गर्दै आउनुभएको छ । खानले आफ्ना निकट सहयोगीलाई यातना दिएको आरोप लगाउँदै आउनुभएको छ ।
गत शनिबारको आमसभामा खानले इस्लामावादका प्रहरी प्रमुख र एक जना महिला न्यायाधीशमाथि आफ्ना सहयोगीलाई हिरासतमा राखेर यातना दिईएको भन्दै त्यसको परिणामका लागि पर्खेर बस्न चेतावनी दिनुभएको थियो ।
सोही भाषणका आधारमा खानले आतंकवाद विरोधी कानूनको उल्लंघन गरेको आरोप लगाएर छानविन थालेको जनाइएकाे छ।
खानको पार्टीले आइतबार रावलपिण्डी र अन्य शहरहरूमा गर्ने भनिएको प्रदर्शन र सभालाई प्रतिबन्ध लगाइएको थियो भने कुनै पनि मिडियालाई खानका भाषणहरूको प्रत्यक्ष प्रसारण गर्न पनि बन्देज लगाइएको छ ।
सत्यपाटी । काठमाडौँ ।