सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

देशभर मेघगर्जन र चट्याङसहित वर्षा

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित छ ।

देशका विभिन्न स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ । अहिले (सोमबार बिहान ६ बजे) गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली छ ।

अरू प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । अरू प्रदेशमा आंशिक बदली हुनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी प्रदेशमा आंशिक बदली हुनेछ । गण्डकी र लुम्बिनीका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार ०६:४७