सूचनाको शक्ति - The Power Of Information

        

गनापुरस्थित अम्बे स्टिलले खनेको खाल्डोमा डुबेर बालकको मृत्यु

बाँकेको गनापुरस्थित अम्बे स्टिल उद्योगले खनेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जानकी गाउँपालिका वडा नम्बर ५ छब्बनपुर्वा निवासी ७ वर्षीय बालक सञ्जु करबलको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेको उनले बताए । जानकी गाउँपालिका वडा नम्बर ५ मा अम्बे स्टिलले उद्योग सञ्चालन गर्दै आएको छ ।

उद्योगले पर्खाल निर्माणका लागि खनेको करिव १० फिट गहिरो खाल्डोमा जमेको पानीमा डुबेर ति बालकको मृत्यु भएको जानकी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष टिकानाथ यादवले बताए ।

वडाअध्यक्ष यादवका अनुसार बिहान करिव ५ बजेतिर बालक शौच गर्न निस्केका थिए । घटनाबारे उद्योगले अहिलेसम्म कुनै चासो नदेखाएको वडाअध्यक्ष यादवले सुनाए ।

मृतक बालकका बुवा मुन्सीलाल करबलले अम्बे स्टिलको लापरबाहीका कारण छोराको मृत्यु भएको बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार १७:५९