ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच विवाद थप बढेको छ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि तनाव बढेको थियो ।
पछिल्लो पटक ताइवानले आफ्नो अत्याधुनिक लडाकु विमानसहित सैन्य अभ्यास समेत गरेको छ । यसअघि चीनले पाँच दिन लामो सैन्य अभ्यास गरेको थियो ।
ताइवानले आफूमाथि आक्रमण गर्न चीनले सैन्य अभ्यास तीव्र पारेको बताएपछि अमेरिकाले चर्को आलोचना गरेको थियो । तर, चीनले सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने संकल्पलाई गलत अनुमान नगर्न अमेरिकासँग आग्रह गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि चीनको दृढ संकल्पलाई गलत अर्थका रुपमा नबुझ्न अमेरिकी पक्षलाई आग्रह गर्नुभएको हो ।
अमेरिका एक चीन नीतिप्रतिको आफ्नो प्रतिबद्धताबाट पछि हटेको उहाँको आरोप छ । पछिल्लो पटक ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच विवाद बढेको छ ।
यसैबीच मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाउनुभएको छ ।
पश्चिमा देशहरूको आलोचकका रूपमा परिचित पूर्वप्रधानमन्त्री महाथिरले अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले बेइजिङले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप ठानेको उल्लेख गर्नुभयो ।
चीनले चाहेमा जुनसुकै बेला आक्रमण गर्न सक्ने तर अहिलेसम्म त्यसो नगरेकाले अब पनि ताइवानमा आक्रमण गर्छ भन्ने आफूलाई नलागेको उहाँको भनाइ छ ।
सत्यपाटी । काठमाडौँ ।