सूचनाको शक्ति - The Power Of Information

        

आईसीसी यू-१९ विश्वकप क्रिकेटको रोडम्याप सार्वजनिक

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेटको रोडम्याप सार्वजनिक गरेको छ ।

आयोजनाको स्थल तय नभएको यस विश्वकपमा १६ मुलुकले सहभागीता जनाउने छन् । प्रतियोगितामा सहभागी १६ टिममध्ये ११ टिम छनोट भईसकेका छन् । बाँकी ५ टोली भने छनोटबाट आउने छन् ।

यसै वर्ष वेस्ट इन्डिजमा भएको यू–१९ विश्वकपमा शीर्ष ११ मा रहेका टिम आगामी विश्वकपका लागि सिधै छनोट भईसकेका छन् ।

छनोट हुने ११ मुलुकमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, इंग्ल्याण्ड, अस्ट्रेलिया, अफगानिस्तान, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, आयरल्याण्ड र जिम्बावे रहेका छन् ।

५ टोली भने एसिया, अफ्रिका, युरोप, अमेरिका र इस्ट एसिया प्यासिफिकबाट समान १/१ टिम रहनेछन् । नेपालले भने ६ टोली रहेको एसिया क्षेत्रको डिभिजन वान जित्नुपर्ने हुन्छ । यस डिभिजन वानमा डिभिजन टूबाट आएका २ टोली सहित ६ टोली रहने छन् ।

डिभिजन टूमा बहराइन, भुटान, साउदी अरब, ओमान, कतार, हङकङ, सिङ्गापुर र थाईल्याण्ड रहेका छन् । यी आठ टिमबाट शीर्ष दुईमा रहने टिमले डिभिजन वानमा रहेका टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

डिभिजन वानमा नेपाल, यूएई, मलेसिया र कुवेत रहेका छन् । ६ टोली रहने एसिया डिभिजन वान जितेमा नेपालले विश्वकपमा स्थान बनाउने छ । सन् २०१६ पछि नेपालले ३ संस्करणको विश्वकप खेलेको छैन ।

नेपालले हालसम्म ७ पटक विश्वकपमा सहभागिता जनाइसकेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार १८:३३