सूचनाको शक्ति - The Power Of Information

        

एलोप्याथीविरूद्ध जनतालाई भ्रमित नगर्न रामदेवलाई अदालतको चेतावनी

भारत नयाँ दिल्लीस्थित उच्च अदालतले बुधवार योग गुरु बाबा रामदेवलाई एलोप्याथिक औषधि र कोविड भ्याक्सिनको बारेमा जनतालाई भ्रममा पार्नुहुँदैन भन्यो । भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार अदालतले रामदेवलाई पतञ्जली उत्पादन कोरोनिलको पक्षमा बोल्दा निराधार दाबी नगर्न आग्रह गरेको छ ।

कोभिड–१९ को उपचारका लागि पतञ्जली कम्पनीले विकास गरेको कोरोनाको सम्बन्धमा कोभिड–१९ विरुद्धको खोपको प्रभावकारिताबारे गलत सूचना फैलाएको, जनतामा भ्रम फैलाएको भन्दै रामदेवविरुद्ध डाक्टरहरूको विभिन्न संघसंस्थाले दायर गरेको मुद्दामा अदालतमा सुनुवाइ भइरहेको छ ।

न्यायाधिश अनुप जयराम भम्बानीले रामदेवलाई भने, ‘सुरुदेखि मेरो एउटै चिन्ता छ । तपाईंका अनुयायीहरू राख्न स्वतन्त्र हुनुहुन्छ । तपाईं आफ्ना चेला बनाउन पनि स्वतन्त्र हुनुहुन्छ । तपाईंले भनेका सबै कुरा सुन्ने र मान्ने मान्छेलाई साथमा राख्न पनि तपाईं स्वतन्त्र हुनुहुन्छ । तर, कृपया तथ्यहिन कुरा बोलेर आम जनतालाई भ्रममा नपार्नुहोस् ।’

न्यायाधिश अनुप जयरामले भने, ‘मेरो चिन्ता आयुर्वेदको राम्रो नाम र प्रतिष्ठा जोगाउने पनि हो । तर यसको साथमा एलोप्याथीको बारेमा भ्रामक कुराहरू फैलनबाट रोक्नु पनि मेरो उद्देश्य हो । गत वर्ष रामदेवले कोरोना भाइरसको संक्रमणबाट हुने अधिकांश मृत्युको लागि एलोप्याथी नै जिम्मेवार रहेको र आफ्नो उत्पादन कोरोनिलबाट मात्र कोभिड–१९ को उपचार गर्न सकिने दाबी गर्दै जनतालाई भ्रमित गरेको आरोप लगाएर विभिन्न संघसंस्थाले उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

हालसालै सार्वजनिक भाषणमा रामदेवले फेरि आफ्नो उत्पादन कोरोनिलले कोभिड–१९ को उपचार गर्न सकिन्छ र एउटा भिडियोमा रामदेवले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप प्रभावकारी नभएको बताएको चिकित्सक संघको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता अखिल सिब्बलले अदालतलाई जानकारी दिए । सिब्बलले भने, ‘कोरोनिललाई दिइएको इजाजतपत्रमा ‘कोविड–१९ को कुनै उल्लेख छैन’ र केवल रोग प्रतिरोधात्मक क्षमता बढाउने र आयुर्वेदिक सामग्रीहरू भएको बारेमा कुरा गरिएको छ ।’

त्यसपछि अदालतले रामदेवलाई अदालतमा मुद्दा विचाराधीन रहेसम्म कोरोनिलका बारेमा थप कुनै बयान नदिन भनेको छ तर, रामदेवका वकिलले यस सम्बन्धमा कुनै पनि वाचा गर्न अस्वीकार गरेका छन् । अदालतले रामदेवको भर्खरको बयानमा पनि प्रश्न उठाएको छु जुन वयानमा बाबा रामदेवले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई खोप दिइए पनि कोभिड पोजिटिभ भएको र यसबाट चिकित्सा विज्ञानको ‘फेल’ भएको दाबी गरेका थिए ।

न्यायाधिश अनुप जयरामले भने, ‘पहिला त मलाई आयुर्वेदको बदनाम भएकोमा पनि चिन्ता लागेको छ, दोस्रो, मान्छेको नाम नै तोकेर कुरा गर्दा अन्तर्राष्ट्रिय रूपमा नै गलत प्रभाव निम्त्याउन सक्छ, हाम्रो देशको अरु देशसँगको सम्बन्ध खराब हुन सक्छ, तपाईँ भ्याक्सिन लिन चाहन्न भन्नु फरक कुरा हो, तर खोप नै बेकार हो, यो लिनुहोस् भन्नुचाहिँ एकदम फरक कुरा हो ।’

केही साता अघि बाबा रामदेवले हरिद्वारमा एक कार्यक्रममा यस्तो दाबी गरेका थिए, ‘अमेरिकी राष्ट्रपति जो बाइडेनलाई एन्टी–कोविड भ्याक्सिनको दुबै डोज दिएपछि बुस्टर डोज पनि दिइयो र त्यसपछि पनि उहाँ संक्रमित हुनुभयो, यसको मतलब यसबाट बच्न भनेका थिए । कोभिड, भ्याक्सिनसँगै योग र आयुर्वेदको खुराक पनि आवश्यक छ ।’

बाबा रामदेवको दाबी छ, ‘जबसम्म भ्याक्सिनमा योग र आयुर्वेदको डोज जोडिदैन, तबसम्म बाइडेन होस् वा विश्वको सबैभन्दा ठूलो डाक्टर होस् वा विश्व स्वास्थ्य संगठन, कसैले पनि तपाईंलाई (कोविडबाट) बचाउन सक्दैन ।’ बाबा रामदेवको दाबी अनुसार विश्व स्वास्थ्य सङ्गठनका उच्च अधिकारीहरू पनि भाइरसबाट संक्रमित भएको दाबी भइसके ।

बाबा रामदेवको भनाईमा, ‘विश्वलाई खोपले मात्र सुरक्षित राख्छ भनेर तिनीहरूले विश्वलाई मुर्ख बनाइरहेका रहेका छन् । खोपसँगै योग आयुर्वेद पनि आवश्यक छ ।’ यसअघि मे २०२१ मा सामाजिक सञ्जालमा राखिएको भिडियोलाई उद्धृत गर्दै इन्डियन मेडिकल एसोसिएसन (आइएमए)ले रामदेवले ‘एलोप्याथी एक मूर्ख र दिवालिया विज्ञान हो’ भनिरहेका छन् भनी बताएको थियो ।

बाबा रामदेवले एलोप्याथिक औषधि खाँदा लाखौंको ज्यान गएको दाबी गरेको र रेमडेसिभिर, फेबिफ्लु र कोभिड–१९ को उपचारका लागि औषधि नियन्त्रक जनरल अफ इन्डियाले स्वीकृत गरेको अन्य औषधिले कोभिड–१९ का बिरामीको उपचार गर्न असफल भएको बताएको आईएमएले आरोप लगाएको थियो ।

इन्डियन मेडिकल एसोसिएसन (आइएमए) र डाक्टरहरूको अन्य संगठनले एलोप्याथीलाई मूर्ख र दिवालिया विज्ञानको रूपमा वर्णन गरेकोमा रामदेवलाई महामारी रोग ऐन अन्तर्गत कारबाही गर्न माग गरेपछि केन्द्रीय स्वास्थ्यमन्त्री डा हर्षवर्धनले ‘आफ्नो शब्द फिर्ता लिन’ रामदेवलाई पत्र लेखेका थिए । यसपछि रामदेवले एलोप्याथिक औषधिमाथिको आफ्नो भनाइ फिर्ता लिएका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार १५:५२