सूचनाको शक्ति - The Power Of Information

        

अर्थ डायरी

समस्याग्रस्त सहकारी, डुब्दै नागरिक, गैरजिम्मेवार सरकार

पछिल्लो समय अधिकांश सहकारी भागिसकेका छन् । बचतकर्ताको बिचल्ली बनाएर सहकारी दलालहरु रातारात टाप कसिरहेका छन् ।

यतिखेर अधिकांश सहकारी समस्याग्रस्त छन् । सरकारको कारणले सहकारीमा भएको ९० लाख नागरिकको ९ खर्ब रुपैयाँ डुब्ने अवस्थामा छ । सहकारीहरु बचतकर्ताको रकम कुम्ल्याएर भाग्दै छन् भने सञ्चालक र अध्यक्षलाई नेपाल प्रहरीले धमाधम समातिरहेको छ । जसले गर्दा बचतकर्ताको बिल्लीबाठ भएको छ । सहकारी राखेको पैसा फिर्ता माग्दा व्याज त छोडौं साँवा पनि नपाउने अवस्था छ । सम्बन्धित निकायले नियमन गर्दा पनि यस्तो अवस्था निम्तिएको स्पष्ट बुझिन्छ ।

यता, सहकारी विभागले समेत सहकारी डुबिसकेको भनेर घुमाउँरो भाषामा भनेको छ । घर, जग्गा र सेयरमा लगानी रोक्न विभागले सहकारीलाई परिपत्र गरिसकेको छ । उता, नागरिक लाई पनि विभागले सतर्कता अप्नाउन पहिले नै सुसूचित गरेको छ । निर्धक्कका साथ नबस्न र आफ्नो बचत भएको सहकारीको अवस्था बुझ्न विभागले खबर गरिसकेको छ । यदि सहकारीमा केही गडबडी देखियो भने तत्काल रकम निकाल्न पनि विभागले जानकारी गराएको छ । पछिल्लो समय अधिकांश सहकारी भागिसकेका छन् । बचतकर्ताको बिचल्ली बनाएर सहकारी दलालहरु रातारात टाप कसिरहेका छन् ।

यता, सहकारीका सञ्चालकको नौटंकी पनि शुरु भएको छ । आफ्नो भवन भएको उल्लेख गर्दै उनीहरुले बहानाबाजी गरिरहेका छन् । हाम्रो यत्रो भवन छ, हामी कहाँ भाग्छौं भनेर धमाधम पैसा लिन आउनेलाई फर्काउने काम भइरहेको छ । घर देखाउने अनि नागरिकको पैसा नदिने ? घरको मूल्यभन्दा धेरै बचत नागरिकको होला । भवन देखाएर नागरिकको दुःखजेलो गरेर कमाएको पैसा कुम्ल्याउने खोजिएको छ । सहकारी विभागका अनुसार मुलुकभर ३५ हजार २३९ सहकारी दर्ता छन् । तीमध्ये कति वटा त भागिसकेका छन् ।

अहिलेको स्थितिलाई नियाल्ने हो भने ९५ प्रतिशत सहकारी धरासायी बनेका छन् । आज खुल्ला छ भोलिदेखि बन्द हुन्छ । घर बहाल तिर्न सकेका छैनन् कर्मचारीले महिनौंदेखि तलब पाएका छैनन् । सहकारीको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गइरहेको छ । यस्तो अवस्था निम्तिदा पनि सहकारी विभागले दैनिक पैसा लगेर नराख्न नागरिकलाई निर्देशन दिएन । घुमाउरो पारामा सहकारीको अवस्था बुझ्न भनियो तर पैसा राख्न प्रतिबन्ध लगाइएन् । यसो हेर्दा विभाग पनि व्यवसायीको पक्षमा उभिएको देखिन्छ । सहकारीको कारणले कतिपयको टाउकोबाट छत खोसिएको छ ।

सहकारीकै कारणले आत्महत्या गर्ने दिन पनि नआउला भन्न सकिन्न । वर्षौदेखि अलिअलि गरेर जम्मा गरेको रकम डुबेपछि नागरिकको अवस्था कस्तो होला ? अझैपनि यसतर्फ सरकारले चासो दिएको छैन् । सहकारीलाई नागरिकले नपत्याएपछि र सहकारी डुबिसकेको कुरा बजारमा फैलिसकेपछि सहकारी महासंघले पनि नाटक देखाइहाल्यो । नागरिकको विश्वास जित्नका लागि आफ्नो कार्यक्रममा भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई ल्याएर उद्घाटन गराए । सहकारीले गर्दा नागरिकको घरमा रुवावासी चलेको छ । उनीहरुको रातको निद्रा र दिनको भोक हराएको छ ।

तर, त्यस्ता सहकारीलाई कारबाही गर्नुको साटो मन्त्री शशी श्रेष्ठले तिनकै कार्यक्रम सहभागिता जनाइन् । आज नागरिकको यस्तो हालत हुनुमा मन्त्री श्रेष्ठको पनि उति नै हात छ । नागरिक ठग्ने र लुट्ने सहकारीको कार्यक्रममा जान नैतिकताले दिन्छ ? मन्त्री नै ठग र दलालीको पक्षमा उभिएपछि नागरिकको बिचल्ली नहुने कुरै रहेन् । सहकारी अनुगमन गर्ने जिम्मा वडा र नगरपालिकाले पाएको छ । तर, वडाध्यक्ष र मेयरले सहकारी अनुगमनमा चासो दिएका छैनन् । उल्टै त्यतैबाट कमिशन खाएर बसिरहेका होलान् । सहकारीको अवस्था अरुलाई दियो भने तलब नै नदिएर धमाधम निकालिरहेका छन् ।

यता, काम गरिरहेका छन् तर सहकारी नपाएर कर्मचारीहरु निराश भएका छन् । सहकारीमा जम्मा भएको सबै रकम आफन्तलाई कर्जा लगानी गर्ने । आफन्त मिलेर खोलेको सहकारीले आज चुलुम्मै डुबेका छन् । सरकारले पनि सहकारीलाई नागरिक ठग्ने प्रमाणपत्र दिएको छ । घाटा भएपनि कतिपय सहकारीले नाफा देखाउनका साधारण सभा गरिरहेका छन् । नक्कली विवरण देखाएर अझै पनि ठग्ने काम भइरहेको छ । नाफाको प्रलोभनमा पारेर नागरिकबाट पैसा असुल्नतिर सहकारीहरु लागिपरेका छन् । सहकारीको हातमा पैसा पुग्यो कि त्यो फिर्ता हुँदैन भने नागरिकले अब बुझे हुन्छ ।

हरेक तीन महिनामा व्याज दिने शर्तमा पैसा राखेको हुन्छ तर एक महिनासम्म पनि उनीहरु चिल्लै छन् । नाफा देखाउनका लागि कर्मचारीलाई पोसाक दिने र ज्येष्ठ नागरिकलाई सम्मान गर्ने । उता, साधारण सभामा ठूलो भोज दिन्छन् भने नाफा देखाउनका लागि अनेकथरी योजना बनाउछन् । तर, त्यही लोभमा परेर बचत गर्नेहरुको सावा नै डुब्यो । सहकारीमा पैसा राख्नेहरुले अहिले निकै गतिलो जागिर पाएका छन् । बिहान खाना खाएर सहकारीमा गएर लाइन् लाग्यो । पैसा पाउने आशमा दिनभर भोकै कुर्यो । बेलुका खाली हात फर्कियो । यो बचतकर्ताको दिनचर्या बनेको छ ।

सहकारी खोल्ने बित्तिकै लाइन लागिसकेको छ । अहिले प्रायजसोको काम नै यही भएको छ । यसले गर्दा सहकारी छेउछाउ भएको होटल र किराना पसल अत्याधिक चलेको छ । सहकारीले व्यक्ति हेरेर १३ देखि २२ प्रतिशतसम्म व्याज दिएको पाइन्छ । एउटै सहकारीमा फरकफरक व्याजदर छ । सहकारीले नागरिकलाई तनाव दिएको छ । आफ्नो सम्पत्ति डुब्ने डरले नागरिकलाई कहाँ जाऊ र के गरु भइरहँदा जिल्लाका सिडियो कार्यालय टुलुटुलु हेरेर बसेको छ । २५ जना मिलेर सहकारी दर्ता गरे । बजारबाट पैसा उठाए, जथाभावी लगानी गरे । जुन उद्देश्यका लागि सहकारी खोलिएका थिए, त्यसको विपरीत काम भयो ।

सहकारीले पनि छिटो नाफा काम लक्ष्य राख्दा आज तिनकै अवस्था नाजुक बन्यो । घर, जग्गा र सेयरमा लगाानी गर्नु नै गलत साबित भयो । यी क्षेत्र सबै गुन्द्रुकको भाउमा आएको छ । कल्पना नगरेको कुरा अहिले आएर आइहाल्यो । किनबेच ठप्प छ भने बजारमा मन्दी आएको छ । नागरिकले राखेको बचत आफूखुसी रुपमा जग्गा किनेर धमाधम प्लानिङ गर्ने, सहकारी सञ्चालक । सञ्चालक भएर दलालीको भूमिका निर्वाह गरेपछि सखाप हुने नै भइहाल्यो । जग्गाबाट आएको नाफा सबै आफू खाने अनि बचतकर्तालाई चाहि थोरै व्याज दिने ? अहिले यस्तो अवस्थामा आइपुग्नुमा उसको आफ्नै गल्ती छ ।

सहकारीका सञ्चालक र अध्यक्षको अत्तोपत्तो छैन्, कर्मचारीमात्र भेटिन्छन् । सम्बनिधत व्यक्ति भएपनि नागरिकलाई भुल्याउने काम मात्र गरिरहेका छन् । चिसो, तातो खुवाउने अनि नानाथरी गफ गरेर फिर्ता पठाउने । कोरोनाका कारण व्यापारीहरु शिथिल बनेका छन् । सहकारीबाट ऋण लिएर व्यापार गरेकाहरुले किस्ता तिर्न सकेका छैनन् । उनीहरु घाटामा छन् । ऋण लिएको मान्छेले किस्ता नतिर्ने बित्तिकै सहकारीले बचतकर्तालाई रकम फिर्ता गर्न सकेन् भने कर्मचारीलाई तलब खुवाउन पनि गाह्रो पर्यो । व्यापारी डुबेसँगै सहकारी पनि डुब्यो । तर, यसको सिधैं मार नागरिकलाई पर्यो ।

अहिले बजारमा पैसा उठाउनेहरु निकै न्यून छन् । तलब दिन नसकेपछि कतिपय निकालिएका छन् भने कतिपय आफै निस्किएका छन् । पहिले एउटै बजार प्रतिनिधिले दैनिक एक लाख बढी उठाउथे । तर, अहिले उनीहरु ६–७ हजारमै खुम्चिएका छन् । नागरिकले पैसा राख्नु छोड्नुको एउटै कारण विश्वासनियता गुमाउनु हो । सहकारी क्षेत्र सञ्चालनमा आएको तीन दशक बित्यो । सहकारी आउनेबित्तिकै घर, जग्गा र सेयरको मूल्य बढ्यो । सहकारीले मँहगो व्याज दिनेबित्तिकै मूल्य रातारात बढ्यो । तर, हामीले जोखिमपूर्ण क्षेत्रमा लगानी गर्यौ भनेर सहकारीका सञ्चालनकर्ताले सोचेनन् ।

उनीहरुले तत्कालको अवस्था हेरे तर भोलिको बारेमा सोचेनन् । जहिल्यै नाफा हुन्छ भन्ने सपना देख्न थालियो । तर, सधैं एउटै अवस्था रहदैन् कुनै दिन गिरावट पनि आउन सक्छ भनेर कल्पना गरिएन् । बैंकभन्दा बढी व्याज दिन्छु भनेर सहकारीमै ल्याएर राख्न लगाए । तर, अहिले सहकारीमा पैसा भएकालाई थक्थकी लागेको छ । व्याजको लोभमा सावा गुमायौं भनेर यतिखेर चेत खुलेको छ । एउटै घरमा पाँच वटासम्म सहकारीको बोर्ड छ । च्याउ उमारेझै सहकारी खोल्न दिनुले नागरिकको हाल बेहाल भयो । यसमा सरकारकै ठूलो हात छ । अझै पनि कतिपयले नबुझेर पैसा राखिरहेका छन् तर यो क्रम रोकौं ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार ११:३८