बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) जागेश्वर भण्डारीले सामान्य नागरिकलाई अनुभूति हुने गरेर बझाङ जिल्लामा शान्ति सुरक्षाको वातावरण बनाउने बताए ।
सरुवा भएर आइतबार बझाङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका भण्डारीले बिहीबार पत्रकार भेटघाटको आयोजना गरेर आफ्नो योजना सार्वजनिक गरेका हुन् । भण्डारीले पहुँचको भरमा प्रहरी कार्यालयमा आउने, फोन गर्नेहरु भन्दा सामान्य नागरिकको गुनासो पहिलो प्राथमिकतामा रहने बताएका छन् ।
प्रहरीको व्यवहारमा केही आशंका लागे आफूलाई सम्पर्क गर्न र त्यस्ता केहि घटना भए १०० मा फोन गरेर प्रहरीलाई सघाउन समेत अनुरोध गरे । नियमविपरीत भाडादर लिने यातायातका साधनहरुलाई निगरानीमा राखिने काम आफ्नो पहिलो प्राथमिकतामा रहेको समेत भण्डारीको भनाइ छ । भण्डारी डिएसपी ज्ञानबहादुर बिष्टको सरुवा भएपछि उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय बझाङको प्रमुखको रूपमा बझाङ पुगेका हुन् ।
सत्यराज सिंह । बझाङ ।