सूचनाको शक्ति - The Power Of Information

        

आजबाट वाइसीएलको राष्ट्रिय भेला

नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसीएल)नेपालको दोस्रो राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ ।

‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने मूल नाराका साथ आजदेखि भेला सुरु हुन लागेको हो ।

भेलाको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको वाइसीएलका संयोजक सुमन देवकोटाले जानकारी दिए । भेलामा सहभागी हुन जिल्ला र प्रदेशबाट प्रतिनिधि काठमाडौं आइसकेका छन् ।

दुई दिनसम्म चल्ने भेला उद्घाटन सत्र, बन्दसत्र र समापनसत्र गरी तीन सत्रमा सञ्चालन हुनेछ । बन्दसत्रमा विगतमा सङ्गठनका कामको सिंहावलोकन आगामी क्रान्तिकारी युवा आन्दोलनको नीति तथा कार्ययोजनामा छलफल बहस गरी युवा आन्दोलनको समग्र कार्यदिशा तय गर्ने संयोजक देवकोटाले बताए ।

भेलामा भौगोलिक तथा गैरभौगोलिक जिल्ला, प्रदेशबाट ६०० प्रतिनिधि सहभागी हुनेछन् । जसमा केन्द्रीय समितिबाट १९६, प्रत्येक जिल्लाबाट तीन–तीन जना गरी २५२, प्रदेश कमिटीबाट ३५, तीन वटा आयोगबाट ५२, केन्द्रीय प्रतिनिधि १६ सहभागी हुनेछन् ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार १०:०४