सूचनाको शक्ति - The Power Of Information

        

नेदरल्यान्डसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा पाकिस्तानको जित

घरेलु टोली नेदरल्यान्डसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला पाकिस्तानले एक खेल अगाडि नै जितेको छ । गएराति भएको दोस्रो एकदिवसीयमा नेदरल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले शृङ्खला २–० ले जितेको हो ।

घरेलु टोलीले दिएको १ सय ८७  रनको लक्ष्य पाकिस्तानले ३३ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका मोहम्मद रिजवान, बाबर अजाम र आगा सलमानले अर्धशतकीय पारी खेले । रिजवानले अविजित ६९ रन बनाए ।

त्यस्तै कप्तान बाबरले ५७ र सलमानले अविजित ५० रन बनाए । नेदरल्यान्डका भिभिएन किङ्ग्माले २ तथा आर्यान दत्तले १ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको नेदरल्यान्डले ४४ ओभर १ बलमा अलआउट हुँदै १ सय ८६ रन बनाएको थियो । उसका बास डी लिड र टम कुपरले अर्धशतकीय पारी खेले । लिडले ८९ तथा कुपरले ६६ रन बनाए ।

पाकिस्तानका हरिस रउफ तथा मोहम्मद नवाजले समान ३/३ विकेट लिए । नसिम साहले २ तथा सादव खान र मोहम्मद वासिमले समान १/१ विकेट लिए । पहिलो खेलमा पाकिस्तान १६ रनले विजयी भएको थियो । दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आइतवार हुनेछ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार ०७:३१