सूचनाको शक्ति - The Power Of Information

        

आज कृष्ण जन्माष्टमी, सार्वजनिक बिदा

वैदिक सनातन धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका कृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’  पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको अनुमान छ ।

आज ललितपुरको पाटनमा रहेको प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्छ । यसैगरी काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भिड लाग्छ । आज काठमाण्डौका विभिन्न ठाउँमा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

‘श्रीकृष्ण जन्माष्टमी’का अवसरमा आज सार्वजनिक बिदा दिइएको छ । यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले कृष्ण अष्टमीले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, करूणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना दिनुभएको छ । उहाँले सन्देश निकालेर यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको हो ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार ०७:१८