सूचनाको शक्ति - The Power Of Information

        

खस भाषा संरक्षणका लागि हाटबजार !

जुम्ली खस भाषाको संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि हाटबजार लगाउन थालिएको छ । जुम्लाको सिंजा गाउँपालिकाले जुम्ली खस भाषाको संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि हरेक महिनाको १ गते नरोकाटमा हाटबजार लगाउने गरेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

सिंजा सभ्यताको कला संस्कृतिलाई प्रचारप्रसार गर्ने र सिंजामा आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षण गर्न हाटबजार लाग्ने गरेको बताउँदै अध्यक्ष धितालले भने, ‘गाउँपालिकाले गएको साउन १ गतेबाट ‘हाट’ बजार सुरु गरेको छ । आगामी महिनादेखि हाटबजारलाई थप व्यवस्थित गरिनेछ । केही फरक भएर जानेछ । सिंजाको आर्थिक गतिविधिलाई चलायमान गराउने हाट बजारको महत्वपूर्ण भूमिका रहेको छ ।’

सिंजाको संस्कृतिको जगेर्ना तथा यहाँका किसानले उत्पादन गरेका विभिन्न अर्गानिक कृषि सामाग्री र यहाँका राडीपाखीलाई बजारीकरण गर्न ‘हाट’ बजार परम्परालाई थालनी गरेको अध्यक्ष धिताले जानकारी दिए । उनका अनुसार जुम्ला राज्यमाथि आक्रमण गरी गोर्खालीहरुले आफ्नो कब्जामा लिएपछिको २३३ वर्षपछि सिंजा सभ्यताको कला संस्कृतिलाई प्रचारप्रसार गर्ने उद्देश्यले सिंजा गाउँपालिकाले पुन ‘हाट’ बजारको सञ्चालनमा ल्याएको हो ।

यहाँको ऐतिहासिकता र अर्थतन्त्रमा सघाउन दीर्घकालीन बजार लगाएर पर्यटन प्रवर्द्धन र विकासका लागि स्थानीय सरकार लागिपरेको गाउँपालिका उपाध्यक्ष सितली रोकायाले बताइन् । सिंजा इतिहासलाई हेर्दा तत्कालीन सिंजा खस राज्यबाटै ‘हाट’ बजार खोलिएपछि गढवाल, पिथौरागढ, कञ्चनपुर पारी जोल्जोली, गोलाघाटमा पनि हाटबजारको सामान किनबेच हुने गरेको इतिहास जानकारहरु बताउँछन् ।

हाट बजारमा ग्रामीण उत्पादनकै बाहुल्य र हस्तकला तथा माटोका भाँडाकुँडामा सामान पनि राखिने भएकाले जिल्लाका अरु स्थानीय तहलाई हेर्न र अवलोकन गर्ने जिल्लाबासीलाई गाउँपालिकाले अनुरोध पनि गरेको छ । कृषि बजारको व्यवस्थालाई पनि सुधार ल्याउन बजारको थालनी भएकोमा सिंजाका स्थानीयमा खुसियाली छाएको छ । हाट बजारको चलनबारे पुराना साहित्यकारहरुले चर्चा परिचर्चा पनि गरेका छन् । प्रत्येक हाट बजारका आफ्नै महत्व र विशेषताहरु थिए ।

कुनै हाट ठूलो परिमाणमा खरीदका लागि चिनिएका थिए भने कुनै निश्चित गाउँका लागि महत्वपूर्ण थिए । कुनै हाट पशुको खरीद बिक्रीका लागि त कुनै सागसब्जी तथा माछामासु मात्रैका लागि प्रख्यात थिए भने कुनै हाट बजारहरु रहेको जानकारहरु बताउँछन् । जिल्लाका अन्य स्थानीय तहले पनि आफ्नो क्षेत्रका परम्परागत हाट बजारलाई जनजीविकासँग जोडेर जीवन्त बनाउनेदेखि बजारहरूको सम्भावना अध्ययन गरी पारम्परिक सामथ्र्य र विकासको सम्भावनालाई जोड्न सकियो भने जुम्लाका स्थानीयको रोजगारी र आर्थिक स्रोतमा टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार १८:१७