सूचनाको शक्ति - The Power Of Information

        

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

नेपाली रुपैयाँ आज बिहीबार इतिहासकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि निर्धारण गरेको १ अमेरिकी डलरको सटही दर इतिहासकै उच्च भएपछि नेपाली रुपैयाँ कमजोर बनेको हो । अमेरिकी अर्थतन्त्र बलियो बन्दै जाँदा त्यसको असर भारतीय मुद्रा हुँदै नेपाली मुद्रामा पनि परेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद मूल्य १२६ रुपैयाँ ८२ पैसा र बिक्री मूल्य १२७ रुपैयाँ ४२ पैसा र युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५७ पैसा रहेको छ । अस्ट्रेलियन डलर १ को खरिदमा ८८ रुपैयाँ २५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिद मूल्य ९ रुपैयाँ ४० पैसा र बिक्री मूल्य ९ रुपैयाँ ४५ पैसा, साउदी रियाल एकको खरिद मूल्य ३३ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य ३३ रुपैयाँ ९४ पैसा र कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९४ पैसा रहेको छ । रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाली रुपैयाँको भारतीय रुपैयाँ (भारु)सँग स्थिर विनिमय दर रहेको छ । पछिल्लो समय डलरको तुलनामा भारु कमजोर हुँदै गएपछि त्यसको असर नेपाली रुपैयाँमा पनि देखिएको हो ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार १३:११