सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि सभा बैठक बस्दै

नागरिकता विधेयक आजै पारित हुने सम्भावना

प्रमुख प्रतिपक्षी दल एमालेकाे विरोध

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसदमा फिर्ता गरेको नागरिकता सम्बन्धी नयाँ विधेयक आजै पारित गर्ने सम्भावना छ । आजको प्रतिनिधि सभाको बैठकबाट विधेयक पारित गर्ने तयारी भएको हो ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने कार्यसूची छ । प्रस्तावमा सांसदहरूले धारणा राखेपछि गृहमन्त्रीले नै विधेयक पारित गरियोस् भन्ने अर्को प्रस्ताव राख्नुहुनेछ ।

सभामुख अग्निप्रसाद सापकोटाले गएको साउन १५ गते प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक राष्ट्रपति भण्डारीले संसदमै फिर्ता पठाउनु भएको थियो । राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा फिर्ता पठाउनु भएको थियो ।

संसद्ले यो विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउन सक्ने संवैधानिक प्रावधान छ । त्यहीँ अधिकार संसद्ले प्रयोग गर्न लागेको हो ।

 सत्ता गठबन्धनले सङ्घीय संसद्का दुवै सदनबाट जस्ताको त्यस्तै विधेयक पारित गरेर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको छ ।

सदनमा सत्ता गठबन्धनको बहुमत भएकाले आजको बैठकबाटै नागरिकता विधेयक पारित हुने सम्भावना छ । राष्ट्रपति भण्डारीबाट फिर्ता पठाइएको विधेयक जस्ताको त्यस्तै पारित गरेर प्रमाणीकरणका लागि पुनः पठाउने गठबन्धनको निर्णयको प्रमुख प्रतिपक्षी दल एमाले विरोध गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार ०७:४५